उदयपुर – नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज मङ्गलवार कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो । 

कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका–१४ को घुर्मी बजारमा बाग्मती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यस अवसरमा टोलीलाई एमालेको प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटी, कटारी नगर कमिटीले घुर्मीमा स्वागत गरेको एमाले नगर कमिटी अध्यक्ष सञ्जीव कार्कीले बताउनुभयो । 

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका अतिथिलाई ३ किलोमिटर पैदलयात्रापछि घुर्मीमा खाना खुवाइएको छ’, कार्कीले भन्नुभयो, ‘आजै ओखलढुङ्गा मानेभञ्ज्याङ्ग गाउँपालिकाको हर्कपुरमा आयोजना हुने सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।’

यो यात्रा हर्कपुरपछि भोजपुर, वसन्तपुर हुँदै पूर्वी जिल्लामा केन्द्रित हुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिनुभयो । यात्रामा अध्यक्ष ओलीलगायत केन्द्रीय उपाध्यक्ष, केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी सहभागी छन् ।ujyaloonline.com