झापा : झापाको अर्जुनधारामा एकीकृत विपद व्यवस्थापन केन्द्र स्थापना गरिने भएको छ ।  अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सक्रियतामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत संयुक्त विपद ब्यवस्थापन केन्द्र स्थापना हुने निश्चय भएको जनाइएको छ ।  

अर्जुनधारा १ स्थित मदनपुरमा केन्द्रको मुख्य कार्यालय रहने निश्चित भएको जनाइएको छ । कार्यालय तथा भौतिक पुर्वाधार निर्माणका लागि ५ करोड रकम निकासा गरेर ठेक्का लगाइएको नगरका इञ्जिनियर निता नेपालले जानकारी दिइन् । सो रकमले भवन लगायतको संरचना निर्माण हुनेछ ।

Messenger_creation_8fda2190-8873-480b-b95d-da25917c86db

एकीकृत बिपद ब्यवस्थापन केन्द्रमा दमकल, एम्बुलेन्स, शवबाहन रहनेछ । बाढीबाट हुन सक्ने क्षति न्युनिकरणका लागि आवश्यक औजार र तालिम प्राप्त जनशक्ति केन्द्रमा रहने जनाइएको छ । केन्द्रमा हेलिप्याड समेत निर्माण हुने भएको छ । 

मुख्यमन्त्री एकीकृत बिपद ब्यावस्थापन ऐन २०७९ निर्माण भएपछि दुई वा दुईभन्दा बढी स्थानीय तहको सहभागितामा यसरी एकीकृत बिपद ब्यवस्थापन केन्द्र निर्माण हुने भएको हो । 

परियोजनाको लगानी साझेदार नेपालका लागि स्विजरल्याण्डका राजदुत डा. ड्यानिला मौलीसहित प्रदेशको टोलीको उपस्थितिमा बुधबार भएको छलफलमा परियोजनाको लागि स्थान तय गरेर काम शुरु गरिएको बताइएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देनले भवन निर्माणका लागि ठेक्का प्रक्रिया पुरा भएको जानकारी दिए ।  

परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, तीनवटा नगरपालिकाको २४ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको ६ प्रतिशत र स्विस सरकारको २० प्रतिशत लगानी रहने गोम्देनले जानकारी दिए ।

छलफल कार्यक्रममा अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईलगायतको सहभागीता रहेको थियो ।