विर्तामोड : 

सतीको श्राप बगाउने र अकाल मृत्युवरण गरेका नेपालीहरुको आत्माको शान्तिको कामना गर्ने लक्ष्य लिएर मेचीदेखि महाकालीसम्म १०८ श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ ।

विर्तामोड वडा नं ५ को धार्मिक अनुष्ठान सेवा समाज नेपालले शुक्रवार मेचीनगरको नवदुर्गा मन्दिरबाट उक्त महापुराणको प्रारम्भ गरिने आज बिहिबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो । 

समाजका अध्यक्ष पंण्डित माधवशरण खनालले मेचीेदेखि सुरु भएको पुराण यात्रा अबिराम रुपमा महाकालीसम्मै पुग्ने र जम्मा १०८ वटा स्थानमा महापुराण आयोजना हुने बताए । 

काजी भीम मल्लकी पत्नी सतीदेवीले देशको भलो चाहनेको कहिल्यै भलो नहोस् भनेर श्राप दिएको हुँदा मुलुकको उन्नतिमा मनोवैज्ञानिक प्रभाव परिरहेको जनाउँदै खनालले उक्त श्रापलाई धार्मिक विधिपूर्वक बगाइने कार्यक्रम रहेको जानकारी दिए । 

 जस अनुसार एक स्थानमा ७ दिनसम्म पुराण गरिने भएको छ । पुराणका लागि व्यास आसनको रुपमा प्रयोग गर्न सकिने गरी रथ निर्माण गरिएको छ ।

सोही रथमा पुराणबाचक बस्नुहुने र एक स्थानपछि अर्को स्थानमा रथलाई लगिने खनालले बताए ।  खनालकै संकल्प अनुसार २०७६ सालदेखि १०८ श्रीमद्भागवत महापुराण सुरु गरिएको थियो । कोरोना महामारीका कारण अभियान रोकिएको थियो ।

१०८ पुराण सम्पन्न भइसक्न चार वर्ष लाग्ने र शुक्रवार १८ औं श्रीमद्भागत पुराणको आयोजना भइरहेको आयोजक समितिका सचिव भीमप्रसाद मिश्रले बताए ।  कार्यक्रमको सञ्चालन समितिकी सल्लाहकार एवम् अधिबक्ता हेमकला कट्टेलले गरेकी थिइन् ।