बिर्तामोड  : क्यान्सर  पिडित बिर्तामोड– ५ कि एकल विपन्न महिला कुसुम आले मगरको उपचारमा  बिर्तामोडका ब्यापारीले आर्थिक सहयोग गरेका छन् ।  

उपचारका लागि खर्च अभावमा रहेकी विपन्न ४६ वर्षीया मगरलाई बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्योपाने, सितल मिनी मार्केटका कुमार निरौला सहितको नेतृत्व टोलीले व्यापारीहरुबाट संकलित  १ लाख २३ हजार  ३ सय ४५ रुपैयाँ आर्थिक सहयोग शनिबार हस्तानतरण  गरेका छन् ।

उनी बिएण्डसी अस्पताल पुर्वपट्टीको शितल मिनी मार्केटमा  चिया पसल सञ्चालन गर्दै आएकी छन् । उनलाई पाठेघरको क्यानसर भएको हो ।  

मगरलाई व्यवसायीहरुबाट संकलित ७६ हजार ३ सय ४५ रुपैयाँ र बीएण्डसी अस्पतालमा रहेको फार्मेसी मार्फत ४७ हजार रुपैयाँ सहयोग गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए  ।

रकम हस्तान्तरणसँगै क्यान्सर रोगी मगरलाई सकेको सहयोग गरिदिन संघका बरिष्ठ उपाध्यक्ष न्यौपालेले सवैमा आग्रह गरेका छन् । मगरको स्वास्थ्यमा गत भदौ महिनादेखि समस्या देखिएको थियो ।

शुरुमा रगत बग्ने समस्या देखिएको मगरले बताइन् । एक महिना अघि स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पत्ता लागेको उनको भनाई छ । 

आफूसँग उपचारका लागि रकम नभएको र उपचारका लागि झण्डै ५ लाख रुपैयाँ लाग्ने भएपछि सबैसँग आर्थिक सहयोगका लागि अपिल गरेकी हुँ मगरले भनिन् ‘नवील बैंकमा रहेको मेरो खाता नम्वर १८९१००१७५००३१५ मा सहयोग गरिदिन म सबैलाई आग्रह गर्छु ।’

सहयोग रकम लिदै उनले मनका धनिले सहयोग गरे उनलको उपचारमा सहयोग पुग्ने बताइन् । मगरका एक छोरा र एक छोरी रहेका छन् । मगरका श्रीमान्को केही वर्ष अघि निधन भएको बताइएको छ ।