झापा : झापाको बिर्तामोडमा ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्य र तिनको परिवारलाई स्वास्थ्य उपचार राहत सुविधा निरन्तर रुपमा प्रदान गर्दै आएको जनाएको छ ।
संस्थाले सदस्य सुरक्षण कोष अन्तरर्गत सदस्यको सुविधालाई मध्यनजर गर्दै बिगत लामो समयदेखि यो सुविधा प्रदान गरिंदै आएको संस्थाका कार्यकारी कमल बस्नेतले जानकारी दिए । संस्थाले चालु आर्थिक बर्षको साउन महिनादेखि मंसीर सम्ममा ४ सय जना शेयर सदस्यलाई ४१ लाख बढी रकम बिभिन्न शिर्षकमा खर्चिएको संस्थाका अध्यक्ष सुवास भट्राईको भनाई छ ।
संस्थाले औषधी उपचार, प्रसुती सेवा, पथरियाको अप्रेशन सहित अन्य विविध विद्यामा उक्त रकम सदस्यलाई प्रदान गरेको उनले बताए । संस्थाले तीन जना शेयर सदस्यको करीब ४ लाख रुपैंया ऋण समेत मिनाह गरेको संस्थाको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।
योे सेवा सुविधा प्राप्त गर्नलागि सदस्य बनेर बार्षिक ६१० रुपैंया संस्थामा बुझाउनु पर्ने र नियमित बचत गर्नु पर्ने संस्थाले जनाएको छ । यो सुविधा अन्तरगत सदस्यले बढीमा १ लाख सम्मको उपचार खर्च प्राप्त गर्ने सक्नेछन् । सदस्यहरु तथा तिनका परिवारलाई स्वास्थ्य उपचार खर्च र ऋण मिनाह लगायतका सुविधा सदस्यको घरदैलोमा पुगेर संस्थाका कर्मचारीले प्रदान गर्दै आएको संस्थाको जोखिम बिभाग प्रमुख बिजय बस्नेतले जानकारी दिए ।
झापा, मोरङ, इलाम र पाँचथर जिल्लामा गरी ५० वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको संस्थाले प्रत्येक बर्ष लगातार सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । संस्थाले यस पटक पनि विपन्न समुदायका सदस्यलाई लक्षित गरि स्वास्थ्य शिविर गर्ने र जाडाको न्यानो कपडा वितरण गर्ने लगायतका कार्यक्रम गर्ने तय गरिएको संस्थाका कार्यकारी प्रमुख बस्नेतले बताए । संस्थामा ६१ हजार ३ सय ७९ जना शेयर सदस्य आबद्ध छन् ।
संस्थाले यहि पुष १५ र १६ गते कचनकबल गाउंपालिका २ स्थित सुकुनाडिगीमा स्वास्थ्य शिविर गर्ने र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडाको कपडा वितरण गर्ने जनाएको छ ।