झापाकी मेनुका पौडेल यतिबेला ‘इन्डियन आइडल’ को मन्चमार्फत विश्वभरका सङ्गीतप्रेमीमाझ लोकप्रिय बनिरहेकी छन्। 

‘इन्डियन आइडलको मञ्चमा आजसम्म यति मनैदेखि कसैले गाएको देखेकी छैन। मैले तिम्रो स्वरमा ईश्वर देख्न पाएँ। त्यसका लागि यो मञ्च धन्य छ। हामी धन्य भयौँ,’ अडिसन राउन्डमा मेनुका पौडेलले गाएको सुनेपछि निर्णायक मध्येकी एक भारतीय गायिका श्रेया घोषालको प्रतिक्रिया थियो।

घोषालले प्रतिस्पर्धीबाट आएको त्यो तहको गायन प्रस्तुतीका लागि आफू तयार नै नरहेको पनि बताइन्। ‘ओ पालनहारे तुमहारे बिना हमारा कौनो नहीँ’ बोलको गीत मेनुकाले गाइरहँदा निर्णायक श्रेयामात्रै होइन विशाल ददलानीको आँखाबाट बर्बरी आँशु झरे।

मेनुकाले गीत गाइसकेपछि कार्यक्रममा एकछिन सन्नाटा छायो। निर्णायकहरू केही बेर निशब्द भए। ‘म सङ्गीतलाई पूजा गर्छु, त्यो सङ्गीत तिमी हौ,’ मेनुकाको गायनपछि ददलानीले आफूलाई सङ्गीतसँग माफी माग्नुपर्छ भन्ने लागेको बताए।

आज पछि मैले जुन सङ्गीत बनाउँछु। त्यो तिम्रो कारणले फरक हुनेछ। मेनुकाले आफूलाई ददलानीको सङ्गीत संयोजनमा गाउन मन लागेको बताइन्।

जवाफमा ददलानीले ‘मेरो भाग्यमा रहेछ भने त्यो पक्का हुन्छ भने। अनेकौँ चर्चित गीत गाएर ुमेलोडी किङकोु सङ्ज्ञा पाएका कुमार सानुले मेनुकाबारे भने, ‘अरू गायकको जिन्दगीमा सङ्गीत आउँछ। तर तिमीले सङ्गीतमा जीवन ल्याइदियौ।’

जन्मजात दृष्टिविहीन मेनुकाले सुनेको भरमा सङ्गीत सिकेकी हुन्। उनले कार्यक्रममा तिनै जना निर्णायकबाट पाएको यो तहको प्रशंसा प्रतिस्पर्धाका आखिरी दिनहरूमा नभई अडिसन राउन्डमा हो।

हुन त अहिले उनी केवल उत्कृष्ट १२ मा मात्रै पुगेकी हुन्। तर नेपाल र भारतका सङ्गीतपारखी माझ उनी परिचित नाम बनिसकेकी छन्।

कार्यक्रममा घोषाल, ददलानी र कुमार सानुबाट मात्रै होइन गायनमा प्रसिद्ध अनुराधा पौडवाल, साधना सरगम, कविता कृष्णमूर्ति, ऋचा शर्मा जस्ता गायिकाहरू, लता मङ्गेशकर र आशा भोसलेले गाएका कैयौँ गीतमा सङ्गीत भरेका सङ्गीतकार कल्याणजी र गायक नीतिनमुकेश, चलचित्र निर्देशक महेश भट्ट, कलाकार रणवीर कपुर, रश्मिका मन्दाना लगायतबाट प्रशंसा पाएकी छन्।

माथुरको जन्म शताब्दीको उत्सव मनाइएको कार्यक्रममा अतिथिका रूपमा उनका छोरा नीतिनमुकेश आएका दिन मेनुकाले माथुरको चर्चितमध्येको चर्चित ‘‘एक प्यारका नगमा है मौजोकी रबानी है’ गीत गाइन्।

मेनुकाले गीत गाइरहँदा नितिनमुकेशले आफूले पनि अन्तिममा गीत गाएर मेनुकालाई साथ दिए। गीत सकिएपछि अन्त्यमा उनले मेनुकालाई प्रतिक्रिया दिँदै भने, ‘तिमीले धेरै धेरै राम्रो गायौ। मलाई लाग्छ आज मेरो बुवाको आत्माले तिमीलाई धेरै आशिर्वाद दिइरहेको छ।’

विगतका कार्यक्रममा जस्तै श्रेया घोषालले यो कार्यक्रममा पनि मेनुकाको स्वरको तारिफ गरिन्। ‘हामीले यो गीत मुकेशजी र लताजी ९लता मङ्गेशकर० को स्वरमा सुनेका थियौँ। तिमीले आफ्नो आवाजले यो गीतमा आज चार चाँद लगाइदियौ। यो तिम्रो जादु हो,’ घोषालले भनिन्।

त्यस्तै अर्को दिन लता मङ्गेशकरले नै गाएको ‘चन्दन सा बदन चञ्चल चितवन धिरे से तेरा ए मुस्कान’ बोलको गीत गाउँदा कार्यक्रममा उपस्थित उक्त गीतका सङ्गीतकार कल्याणजीले मेनुकालाई लता मङ्गेशकरसँग जोडेर प्रतिक्रिया दिए।

‘मेनुकाजी, यति सही गाउनुभयो तपाईँले, कसैको देन नभई यो सम्भव छैन। लताजीसँग जस्तो आशिर्वाद थियो यस्तो लाग्दैछ तपाईँसँग पनि छ। तपाईँसँग ईश्वर खुसी छन्। लताजीले पनि यसैगरी शब्दसँग खेल्नुहुन्थ्यो सधैँ। लताजीलाई तपाईँले भेटेको भए आज उहाँ कति खुसी हुनुहुन्थ्यो होला। भगवानले रक्षा गरून्’ कल्याणजीले मेनुकालाई भने।

कल्याणजीले मेनुकालाई अहिले जस्तो प्रतिक्रिया दिए कुनै बेला बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले पनि लता मङ्गेशकरलाई लगभग त्यसैगरी भनेका पाइन्छ।

सन् २००४ मा उनले बीबीसीमा मङ्गेशकरबारे लेखेका थिए, ‘मैले उनको आवाजमा भगवान्‌को आशीर्वाद देखेँ।’

उक्त कार्यक्रममा सँगै आएका अर्का अतिथिले मेनुकाको स्वर सुनिसकेपछि उनका लागि सङ्गीतकारले गीत बनाउने दाबी गरे।

यो गीत जस्तै मेनुकाले लता मङ्गेशकर, आशा भोसले, अनुराधा पौडवाल, अल्का याग्निकजस्ता गायिकाहरूका सदाबहार चर्चित गीतहरू र भजनहरू नै कार्यक्रममा गाउँदै आएकी छन्।

मेनुकाले सत्यम् शिवम् सुन्दरम् गीत गाइसकेपछि घोषालले पनि भनेकी थिइन्, ‘तिम्रो स्वर नै सत्यम् शिवम् सुन्दरम्ू छ।’ निर्णायक ददलानीले त्यही कार्यक्रममा मेनुकाको स्वरमाथि प्रतिक्रिया जनाउन सक्ने औकात आफूसँग साँच्चै नभएको बताएका थिए।


मेनुकाले इन्डियन आइडलको मञ्चमा जस्तो प्रतिक्रिया पाएकी छन्, नेपालका धेरै स्थापित गायकगायिका तथा सङ्गीतकारका लागि लोभ्याउने खालको छ। जसको गीत एकान्तमा बसेर अभ्यास गर्थिन् तिनै गायिकाहरूसँग मेनुकाले मञ्चमा गाउने मौका पनि पाएकी छन्।

सङ्गीतप्रति जीवन समर्पित गर्ने जो कसैले कल्पनामात्रै गर्नसक्ने त्यस्तो कुरा मेनुकाले यथार्थमा भोग्न पाएकी छन्।

मानिसहरूले उनी अहिले इन्डियन आइडल पुगेको देखेका छन्। उनले मौन रहेर एकान्तमा वर्षौँदेखि गर्दै आएको साधना भने निकै कमलाई थाहा होला।

उनले भोगिरहेको जीवन नेपाल र भारतका सङ्गीत पारखीका लागि लोभलाग्दो देखिए पनि त्यहाँसम्म पुग्न मेनुकाले गरेको सङ्घर्ष जो कसैले गर्न नसक्ने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

झापाको हल्दिबारीमा सामान्य परिवारमा जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन्। उनका आमाबुवा र दुई बहिनीहरू छन्। सामान्य आर्थिक अवस्थाका कारण उनका बुवा वर्षौँ अघि कमाइ गर्न मलेशिया गएका थिए। अहिले पनि उतै छन्।

इन्डियन आइडलको एउटा कार्यक्रममा मेनुकाको ठूलो इच्छा आफ्नो बुवालाई घर फर्काउनका लागि आफू सक्षम बन्नु रहेको बताएकी थिइन्।

हुन त उक्त कार्यक्रममा मेनुकाले नै आफ्नी एउटी बहिनीको विवाह गराएको र अर्की बहिनीलाई पढाइरहेको भन्ने कुरा खुलेको थियो।

२५ वर्षमा परिवारको जिम्मेवारी सम्हाल्न थालिसकेकी मेनुका जन्मिँदा नै आँखा नदेख्ने भएर जन्मिए पनि उनको आँखाको उपचारका लागि आमाबुवाले आफूले सकेको सबै उपचार खोजे।

केही सीप नचलेपछि आमाबुवाले उनलाई झापाकै गरामनी भन्ने ठाउँमा रहेको दुर्गा माध्यामिक विद्यालयको होस्टलमा राखिदिए। जहाँ अन्य दृष्टिविहीनहरू पनि थिए।

मेनुकाको सङ्गीतसँगको पहिलो परिचय त्यहीँ भयो। जब हार्मोनियमको सङ्गीत सुनिन् उनी तत्कालै आकर्षित भइन्।

इन्डियन आइडलको मञ्चमा उनले भनेकी छन्, ‘मलाई त्यही बेला लागेको थियो, जिन्दगीमा केही बन्नु छ भने गायिका नै बन्नु छ।’

मेनुकाले होस्टलमा हार्मोनियममात्रै होइन सङ्गीत सिकाउने गुरु अनिल फागो र आफूजस्तै सङ्गीतसिक्ने हुटहुटी भएका साथी उज्ज्वल सागर पनि भेटिन्।

मेनुकालाई आमाबुुवा र बहिनीहरूपछि सम्भवत सबैभन्दा बढी नजिकबाट चिन्ने आफू नै भएको उज्ज्वल दाबी गरेर भन्छन्।

उनले मेनुकाले आज भोगिरहेको सफलताको दिनमात्रै देखेका छैनन् वर्षौँदेखि एकान्तमा उनले गरेको सङ्गीत साधनाको साक्षी पनि बनेका छन्।

सङ्गीत क्षेत्रका हस्तीहरूले आफ्नो चेलीबारे गरेको तारिफ सुनेर प्रफुल्ल सुनिने गुरु अनिल फागोले मेनुकामा सङ्गीत प्रतिको समर्पण र दृढता सानैदेखि देखेका थिए।

‘मेनुकाले इन्डियन आइडलमा भाग लिन जान्छु भन्ने धोको पहिल्यैदेखि राखेकी थिइन्,’ फागो भन्छन्। उज्ज्वलका अनुसार मेनुकालाई सानैदेखि भजनमा रुची थियो। उनलाई करिब तीनहजार भजनहरू कण्ठस्थ आउने उज्ज्वल बताउँछन्।

मेनुकाले गरामनीस्थित होस्टेलमै बस्दा भारतको अलाहवादमा रहेको प्रयाग सङ्गीत समितिबाट सङ्गीतको डिप्लोमा गरिन्।

त्यहाँको आवद्धता लिएर झापामै बसेर सङ्गीत पढ्ने व्यवस्था फागोले नै मिलाइदिएको उज्ज्वल बताउँछन्। तेस्रो वर्षको जाँच अलाहावादबाट सक्दा स्कुले १० कक्षाको परीक्षा पनि सकियो

सङ्गीतमा तीन वर्षको डिप्लोमासँगै मेनुकाले कक्षा १० को पढाइ पूरा गरिन्। सानैदेखि सङ्गीतमा आफ्ना पँखेटा फिजार्न चाहेकी मेनुकालाई त्यसपछि भने काठमाण्डू जानुपर्छ भन्ने लाग्यो।

झापामा हुँदै काठमाण्माडौंमा रहेका कतिपय सङ्गीतकारहरूसँग मेनुकाले आफ्नो परिचय बढाइसकेकी थिइन्। १५–१६ वर्ष हुँदै उनी आफैँ सङ्गीतकारहरूको सम्पर्क नम्बर खोज्थिन् र फोनबाटै कुरा गरेर भेट्ने इच्छा व्यक्त गर्थिन्।

काठमाडौं गएपछि उनी जो जो सङ्गीतकार वा गायकलाई भेट्न जान्थिन् उनीहरू मेनुका दृष्टिविहीन हुन् भन्ने थाहा पाएर चकित पर्थे।

अर्थात् मेनुका फोनबाट सम्पर्क गर्दा कसैलाई पनि आफू दृष्टिविहीन भएको खुलाउँदैन थिइन्। उनी दृष्टिविहीनलाई अरूको सहारा चाहिन्छ वा त्यो कमजोरी हो ठान्ने विचार नै ठिक मान्दिनन्।

गुरु अनिल फागो भन्छन्, ू‘दृष्टिविहीन भएका कारण कसैले बाटोमा मागिरहेको छ भन्ने थाहा पाउँदा उनी रिसाउँथिन्। आफैँ गरेर पो खानुपर्छ, मागेर पनि खाने हो भन्थिन्।’

अहिले इन्डियन आइडलको मञ्चमा पनि मेनुकाले आफूले गीत गाउनेबाहेक खाना पकाउने, किनमेल गर्ने, एक्लै यात्रा गर्ने सबै काम आफैँले गर्ने गरेको बताइन्।

सङ्गीतकार कल्याणजी कार्यक्रममा आएको बेला आफैँले बनाएको भन्दै मेनुकाले खीर ल्याएकी थिइन्। त्यसअगाडिको कार्यक्रममा उनले निर्णायकलाई आफैँले किनेको भनेर उपहार पनि ल्याइदिएकी थिइन्।

उनले कुनै अन्तर्वार्तामा भनेकी पनि छन्, ‘मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि मानिसले सबैकुरा आफैँ गर्नुपर्छ।’

मेनुकाको गायनबाटै सङ्गीतप्रतिको उनको सङ्कल्प र समर्पण देख्न पाएका निर्णायकले उनका बारे सुनेपछि तालि बजाएर समर्थन गरे।

निर्णायक घोषालले त भनिन् पनि,  ‘मेनुका तिमीले के गर्न सक्दैनौ , सबै गर्न सक्छौँ र हामी सबैले भन्दा राम्रो गर्न सक्छौ।’

देख्न सक्नेहरू जस्तो रङ्ग वा आकृतिसँग उनी परिचित छैनन्।

उनले केवल गीत, सङ्गीत र सुर सुनेर गाउन सिकिन्। उनमा सङ्गीतको सही नजर भएको सन् १९९० को दशककी चर्चित गायिका अनुराधा पौडवाल बताउँछिन्।

मेनुकाले गाएको सुनेर चर्चित निर्देशक महेश भट्टको कार्यक्रममै मानिसको एउटा आँखा मनमा हुने भन्दै त्यसैबाट मेनुकाले दुनियाँ देखेको बताए।

उनी उपस्थित कार्यक्रममा मेनुकाले  ‘गलेमा आज चाँद निकलाु र  तुम इतना जो मुस्कुरा रहे हो’ बोलका दुईवटा गीत सुनिसकेपछि मञ्चमै पुगेर आफ्नो परिचय गराउँदै भट्टले मेनुकालाई भने ‘एउटा आँखा मनमा हुन्छ जसबाट तिमी दुनियाँ हेर्छौँ। तिमीले जुन चन्द्रमा देखायौ त्यो चन्द्रमा त मैले कहिल्यै देखेकै थिइनँ।’

उक्त कार्यक्रममा महेश भट्ट खुब भाबुक बनेका थिए। मेनुकाले कार्यक्रमका निर्णायक र अतिथिहरू नै चकित हुने गरी गीत गाइरहेकी छन् भन्ने कुरा उनका निकट साथी उज्ज्वल सागरलाई अनौठो लाग्दैन।

उज्ज्वल आफू पनि जन्मजात दृष्टिविहीन हुन्। उज्ज्वल र मेनुका सानैदेखि होस्टलमा सँगै बसेर सङ्गीत सिकेका कारण उनीहरू अहिले पनि एकअर्काबीच घन्टौँसम्म सङ्गीतबारे छलफल गर्छन्।

एकले अर्कालाई तँ भनेर सम्बोधन गर्ने उनीहरूको मित्रताको कथा लोभलाग्दो र प्रेरणादायी लाग्छ। इन्डियन आइडलमा जानकै लागि मेनुकाले कुन तहको मेहेनत गरिन् भन्नेबारे सबैभन्दा जानकार सम्भवतस् उज्ज्वल नै छन्।

‘इन्डियन आइडलमा जान भनेर उसले  १२०० वटा जति हिन्दी गीत कण्ठ गरी होला। उर्दु भाषा पनि अनलाइनबाट सिकी,’ उज्ज्वल भन्छन्। सङ्गीतमा मेनुकाको बलियो र कमजोर पक्ष आफूलाई जति अरू कसैलाई थाहा नभएको दाबी उज्ज्वल गर्छन्।

गरामनीमा होस्टेलमा बस्दादेखि नै उनीहरू बिहानै उठेर कम्तीमा दुई घन्टा र साँझ स्कुलपछि दुई घन्टा रियाज गर्थे।

उज्ज्वलका अनुसार मेनुकाले नेपाल आइडल र सारेगमपमा भाग लिएपछि इन्डियन आइडलमा जानका लागि दिलोज्यान दिएर तयारी गरेकी थिइन्।

‘उसले दिनमा ६–७ घन्टा रियाज गर्छे जुन सामान्यतया गर्न एकदमै गाह्रो हुन्छ,’ उज्ज्वल भन्छन्, ‘हामी स्कुलमा सङ्गीत सिक्दा देखिनै बिहान ४ बजे उठेर रियाज गर्थ्यौँ र बेलुका पनि अनिवार्य गर्थ्यौँ।’

अहिले इन्डियन आइडलमा भाग लिइरहँदा मेनुका मुम्बईमा छिन्, उज्ज्वल मध्यबानेश्वरमा बस्छन्। तर उनीहरूबीच निरन्तर संवाद हुने उज्ज्वलले बताए।

मेनुका प्रत्येक नयाँ कार्यक्रमका लागि गीतको सूची दिँदा उज्ज्वलसँगै मद्दत लिन्छिन्। ‘उसले कहाँ बिगार्छे वा कुन गीत राम्रो गाउन सक्छे भन्ने मलाई थाहा छ,’ उज्ज्वल भन्छन्। स्कुलदेखि नै मेनुकाले गाउने हरेकजसो गीतमा उज्ज्वल तबला बजाइदिन्थे।

एउटा समय त यस्तो आयो मेनुकाका लागि तबला बजाउँदै बजाउँदै आफूले गाउन सिक्न पाइनँ भन्ने लागेपछि उज्ज्वलले मेनुकालाई तबला बजाउन पनि लगाए। तर मेनुका गाउनमै तल्लिन रहेको उज्ज्वल बताउँछन्।

अहिले इन्डियन आइडलमा भाग लिइरहँदा पनि उनैले अतिथि अनुसार मेनुकालाई आफूले गीत पनि सुझाइदिने गरेको बताउँछन्। उनले सुझाएका कतिपय गीत छानिएको पनि उनले बताए। रियालिटी शोमा मेनुकाले भाग लिएको यो पहिलो पटक होइन।

चार वर्षअघि उनी भारतमै हुने अर्को रियालिटी शो सारेगमपमा पनि पुगेकी थिइन्। त्यसको अडिसनमा पनि उनले दिग्गज कलाकारहरूबाट वाहवाही बटुलेकी थिइन्।

अहिले इन्डियन आइडलमा जस्तै हरेकजसो एपिसोडमा मेनुकाले उच्च स्कोर सहित स्ट्यान्डिङ ओवेसन पाउँथिन्। तर टप ११ को प्रतिस्पर्धाबाटै उनी बाहिरिइन्। त्यसअघि नेपाल आइडलबाट आफ्नो परिचय बनाएकी मेनुका त्यहाँ पनि मतदानका आधारमा हुने निर्णयमा ११ औँ स्थानमै सीमित बनिन्।

इन्डियन आइडलको पछिल्लो कार्यक्रममा उनले सलार चलचित्रमा पार्श्व गायनका लागि प्रस्ताव पाएकोबारे चर्चा भएको थियो।

रबि बसरुरले सङ्गीत संयोजन गरेको ूसुरज ही छाओँ बनकेू बोलको उक्त गीत अहिले यूट्यूबमा सार्वजनिक भइसकेको छ।

सार्वजनिक भएको दोस्रो दिन नै उक्त गीत अहिलेसम्म करिब ३० लाख पटक सुनिसकिएको छ। केजीएफ चलचित्रका निर्देशक प्रशान्थ नीलले बनाउन लागेको चलचित्रमा बहुचर्चित बाहुबली चलचित्रका अभिनेता प्रभासको मुख्य भूमिका रहेको बताइएको छ।

आफ्नो प्रेरणाको सबैभन्दा ठूलो स्रोत सङ्गीत मान्ने मेनुका आफ्नो जीवनमा सङ्गीतको उडानलाई अझै फराकिलो र परिष्कृत बनाउँदै लैजानेछिन्। बिबिसीबाट साभार