बिर्तामोड ।  

कोशी प्रदेशका दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने  तालिम बिर्तामोडमा आजबाट शुरु भएको छ । 

अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको होटल अर्किडमा आज एक कार्यक्रमका बिच तालिम शुरु भएको हो । तालिम भोली शुक्रबार समापन हुने जनाइएको छ । 

प्रतिनिधीसभाका सांसद हर्कमाया विश्वकर्माको प्रमुख आतिथ्यता तथा लिडरसिप एकेडेमी नेपाल (लेन)का वरिष्ठ कार्यक्रम प्रबन्धक प्रभाकर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेनकी कार्यक्रम अधिकृत सबिना बडेलले गरेकी थिइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बिश्वकर्माले देशको कानुनमै छुवाछुत मुक्त घोषणा भए पनि अझै देशका बिभिन्न क्षेत्रमा  छुवाछुत यथावत रहेको बताइन् । 

गैर सरकारी संस्थाहरुले समाजमा अहिले पनि ब्याप्त सामाजिक विभेद हटाउन भूमिका खेल्नु पर्ने धारणा राखेकी थिइन । 

उनले अहिले पनि  दलित, जनजाति तथा आदिबासी समुदायका महिलाहरु देशको निर्णायक र नेतृत्वदायी भूमिकामा पुग्न नसकेको बताउंदै यस्तो हुनु दुःखद रहेको बताइन । 

कार्यक्रमका गैर सरकारी संस्था महासंघ कोशी प्रदेशका इञ्चार्ज छविलाल खतिवडा लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रममा  कोशी प्रदेशका ताप्लेजुङ र ओखलढुंगा बाहेक १२ जिल्लाबाट २४ जना प्रतिनिधी सहभागी रहेको जनाइएको छ । 

तालिममा प्रस्ताव लेखन, कार्यक्रम योजना र कार्यान्वयन, वित्तीय व्यवस्थापन र बजेट, नेतृत्व विकास र वकालत सीपका बारेमा प्रशिक्षण दिइने (लेन)का वरिष्ठ कार्यक्रम प्रबन्धक प्रभाकर प्रधानले जानकारी दिए । तालिमको सहजीकरण जय तिम्सिना, सोमराज ढकाल र राजन न्यौपानेले गर्ने छन् ।  कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भिमा शिवाकोटीले  गरेकी थिइन् ।