सुरुङ्गा । जिल्ला स्तरीय सांस्कृतिक प्रतियोगितामा सुरुङ्गाको प्यारागन एकाडेमी जिल्ला टप भएको छ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाद्धारा दमकमा यहि पुस २ र ३ गते आयोजना गरेको जिल्ला स्तरीय सांस्कृतिक प्रतियोगिता अन्तर्गत नृत्यका तीन वटै  विधामा प्यारागन एकाडेमी जिल्ला प्रथम भएको हो ।

आधुनिक, राष्ट्रिय र लोक सांस्कृतिक नृत्यमा प्यारागनले प्रथम स्थान हासिल गरेको आज आयोजित पत्रकार भेटघाटमा विद्यालय प्रशासनले जानकारी दिएको हो । 

प्रतियोगितामा विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीले आधुनिक, कक्षा ८ सम्मका विद्यार्थीले राष्ट्रिय र कक्षा ९ देखि माथिका विद्यार्थीले लोक साँस्कृतिक विधा नृत्य प्रतियोगितामा प्रथम स्थान हासील गरेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले जानकारी दिए । 

 एउटै विद्यालयले तीनवटै विधामा प्रथम स्थान हासिल गरेको पहिलो रेकर्ड भएको  कनकाई नगर प्याब्सन अध्यक्ष बिनोद सुब्बाले बताएका छन् । 

२०६४ सालमा स्थापना भएको बिद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ ।  ७०३ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा  शिक्षक र  कर्मचारी गरेर ५७ जना कार्यकरत छन् । 

विद्यालयले आउने शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालनको तयारी गरेको विद्यालय ब्यवस्थापन समिति  अध्यक्ष तथा संस्थापक चम्पा खनाल सुबेदीले जानकारी दिइन । विद्यालयको उदेश्य लक्ष्य अनुसार विद्यार्थीको मेहनतबाट विद्यालयले नाम कमाएको भन्दै उनले खुसी ब्यक्त गरिन ।   

आगामी दिनमा जिल्ला मात्र नभई प्रदेश र केन्द्र स्तरमै आयोजना हुने  प्रतियोगितामा पहिलो हुने लक्ष्य  लिइएको विद्यालयका नृत्य निर्देशक दिवस गिरीले बताए । 

पत्रकार भेटघाटमा विद्यालयका  संयोजक चेतन भण्डारी, पूर्व शिक्षक अर्जुन उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा  बिद्यालयका सञ्चार सदस्य राम निरौलाले गरेका थिए ।