बिर्तामोड । भुटानी शरणार्थीहरुको समस्या र दीर्घकालिन समाधानका उपायहरुका बारेमा बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

मानव अधिकार संजाल झापाको आयोजनामा अधिकारवादी लगायत सरोकारवाला पक्षबिच आज अन्तरक्रिया गरिएको हो ।  कार्यक्रममा भुटानी शरणार्थीहरुमा देखिएका समस्या र समाधानका उपायका सम्बन्धमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

मानव अधिकार संजाल झापाको तर्फबाट अध्यक्ष डा. रुपक खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।  डा. खनालले सन् २०१९ यता विभिन्न कारणले तेस्रो मुलुक पुनर्वास हुन नसकेका र शरणार्थीको रुपमा दर्ता हुन छुटेका मानिसहरु परिचय विहिन बन्न पुगेको औँल्याएका थिए ।  

डा. खनालले भुटानी शरणार्थीहरुले गैर भुटानीसँग विवाह पश्चात सन्तान जन्मिइसकेपछि डिभोर्स भएको र ती सन्तानको दर्ता नभईरहेको र उनीहरुको शिक्षा, स्वास्थ्य र सामान्य जीवनयापनमा समस्या भइरहेको कार्यपत्रमा उल्लेख गरेका छन् । 

त्यस्तै बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले हाल नेपालका शिविरमा ६ हजार ५७७ पञ्जिकृत शरणार्थी रहेको र दातृ निकाय र नेपाल सरकारले प्रतिबद्धता जनाए विपरित भुटानी शरणार्थीलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण रुपमा बन्द गरिँदा आधारभूत आवश्यकता परिपूर्तीमा ठूलो चुनौती रहेको कार्यपत्रमा उल्लेख गरेका थिए । 

 कार्यक्रममा नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकी, एकिकृत समाजवादीका झापा अध्यक्ष वेदराज रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, भुटानी शरणार्थीका जानकार डा. केपी सुवेदी, विश्वनाथ क्षेत्री, भुटानी शरणार्थीहरु, मानव अधिकार सञ्जाल झापाका निवर्तमान अध्यक्ष विष्णु खरेल, वर्तमान पदाधिकारीहरु लगायत एक सय बढीको उपस्थिती थियो ।