झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । 

कचनकवल २  सुकुनाडिगी स्थित श्री लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयको प्रागंणमा विभिन्न रोगको जाँचका लागि विशेषज्ञ सेवासहितको बृहत स्वास्थ्य शिविर सञ्चालन गरिने संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । 

यहि आउंदो पुष १५ र १६ गते दुई दिवसीय निशुल्क स्वास्थ्य शिविर गरिने उनले बताए ।  

संस्थाको आयोजना, नोबेल शिक्षण अस्पताल बिराटनगरको प्राविधिक सहयोग तथा समाजसेवी सुर्यप्रसाद रिमालको सहकार्यमा शिविर गर्न लागिएको कार्यकारी प्रमुख बस्नेतले बताए । 

विपन्न समुदायका नागरिकलाई लक्षित गरी जिल्लाको दक्षिणी भेगमा स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको  उनले बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै शिविर आयोजना गर्दै आएको बताउंदै शिविरबाट लाभ लिन सदस्य सहित अन्यलाई आग्रह गरेका छन् । 

शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा, बाल रोग, न्यूरो सेवा, छाला तथा यौन रोग, नाक कान घांटी, आंखा परिक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्सरे, इ.सि.जि, प्रयोगशाला सहितको बिशेषज्ञबाट सेवा प्रवाह गरिने संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । 

उनका अनुसार शिविरमा विशेषज्ञ सेवा र औषधि निशुल्क उपलब्ध गराइने छ । संस्थाले यस अघि यस्ता किसिमका स्वास्थ्य शिविर सहित सामाजिक क्षेत्रमा काम गरिसकेको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए । 

झापा , मोरङ, इलाम र पाँचथर जिल्ला गरी ५० वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीमा  ६१ हजार ३ सय ७९ जना शेयर सदस्य रहेका छन् ।