झापाको बिर्तामोडमा ‘जुत्ता चप्पल व्यापार महोत्सव २०८० ’हुने भएको छ ।  बिर्तामोड स्थित सिटी सेन्टरमा प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव गर्न लागिएको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

‘नेपाली उत्पादनको प्रबद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजनामा यहि पौष ९ गतेदेखि माघ ९ गते सम्म एक महिना कोशी प्रदेश स्तरीय महोत्सव गर्न लागिएको रन सुज इन्डष्ट्रिजका रुद्र न्यौपानेले जानकारी दिए । 

मेला अवधिभर न्यूनतम २० देखि कतिपय उत्पादनमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको जनाइएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनीहरुका १५ वटा बढी ब्राण्डहरुका जुत्ता चप्पल उपभोक्ताले खरिद गर्न पाउने जनाइएको छ । 

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, ब्यवसायी उमेश राउत, महोत्सव संयोजक नानीराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।