बिर्तामोड : मृत्यु दण्ड सुनाइएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउतलाई नेपाल फर्काइएको छ । राउतलाई ‘सुवास राउत स्वदेश फर्काऔँ अभियानले नेपाल ल्याउन सफल भएको हो ।
आफ्नै सहकर्मीको हत्या अभियोगमा त्यहाँको कतारको अदालतले तीन वर्ष कैदसहित मृत्यु दण्ड वा ९० लाख रुपैयाँ ब्लड मनी दिनुपर्ने फैसला सुनाएको थियो ।
राउतलाई अभियानकर्मीहरूको पहलमा नेपाल ल्याउन सफल भएको अभियानका संयोजक गोविन्दप्रसाद पौडेलले बताए ।
अभियानले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई स्वदेश फर्काउन सफल भइएको जनाएको हो ।
विभिन्न संघ संस्था तथा व्यक्तिहरूमार्फत अभियानलाई २० लाख २४ हजार ६५० रुपैयाँ प्राप्त भएको अभियानका सचिव युगल दवाडीले जानकारी दिए । कतार अदालतले ९० लाख रुपैयाँ ब्लड मनी तोकेपनि मृतक खोटाङ ऐसेलुखर्क–५ का लामाकाजी राईको परिवारलाई १५ लाख नगदमा मनाउन सकिएको अभियानका सदस्य दीपक चापागाईँले बताए ।
अभियानले संकलित रकम मध्ये बचेको २ लाख ५० हजार रुपैयाँ स्थानीय कनकाई बालविकास केन्द्रलाई हस्तान्तरण समेत गरेको छ ।
राउतले आफूलाई फसाइएको दाबी गरे । ‘मृतक र म कतारको कम्पनीमा पानीको मोटर चलाउने काम गर्थ्यौँ, म नुहाएर आउँदा कोठामा छुरी हानेर उनी लडेको देखेर मैले छुरी तानेको थिएँ,’ उनले भने, ‘कसले छुरी हानेर भागेको मलाई थाहा भएन तर छुरी मैले उनको शरिरबाट निकालेको भन्दै मलाई दोषी ठहर गरियो ।’
उनले आफू बाँचेर नेपाल फर्कने आशा नरहेको बताए । आफूलाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई राउतले धन्यवाद दिए । तीन वर्ष जेल सजाय काटेर राउत दुई हप्ता अघि नेपाल आएका थिए ।