झापा : बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिंदै लगेको छ । झापा ट्राफिकले जिल्लाका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गर्दै आएको हो ।
बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले विद्यालयमा आधारित सचेतना कक्षा तथा अभियान कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नबराज न्यौपानेले जानकारी दिए ।
उनले सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पु¥याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराउंदै आइएको जानकारी दिए ।
साथै सचेतना कक्षामा विद्यार्थीहरुलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे पनि जानकारी गराउने गरिएको उनले बताए ।
प्रशिक्षणको क्रममा सूचनामूलक, चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिह्नहरु विद्यार्थीलाई चिनाइने गरेको ट्राफिक प्रमुख न्यौपानेको भनाई छ ।
ट्राफिक प्रमुख न्यौपानेले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, गाउँ, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिंदै आएको बताए ।
प्रशिक्षणका क्रममा कक्षा ९ र १० मा अध्ययन गर्ने किशोर किशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सिकाउंदै आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सई पूर्णप्रसाद गौतमले जानकारी दिए ।
अघिल्लो महिना झापा ट्राफिकले कक्षा ९, १०, ११ र १२ मा अध्ययन गर्ने करीब १५ सय बढी विद्यार्थाीलाई सचेतना प्रदान गरेको जनाएको छ ।