झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा हिजो सांझै देखि भएको तनाव अझै साम्य भएको छैन ।  उपाचारका क्रममा बिर्तामोड नगरपालिका ९ की नर्वदा घिमिरे बाँस्कोटाको हिजो सोमबार सांझ मृत्यु भएको थियो । उनको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको भन्दै मृतकका  आफन्तहरुले अस्पतालमा हिजो सोमबार सांझ तथा आज दिनभर नारावाजी गरिरहेका छन् । आन्दोलनमा उत्रिएका मृतक परिवार र आफन्तहरुले  अस्पतालमा तोडफोड समेत गरेका छन् ।

यो समाचार तयार पार्दा सम्म अस्पतालको माहोल साम्य भइसकेको छैन । उनीहरुले केहीबेर अघि ढुंगा हानेर अस्पतालको सीसा फुटाएका छन् ।  

उपचारका संलग्नमाथि चिकित्सकमाथि कारबाहीको माग गर्दै आफन्तले दिनभर नारावाजी गर्दै अस्पताल तोडफोड नै गरेका हुन् ।  

हिजो बिहान ७ बजे खुट्टा सुन्निएर अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बांस्कोटाको  उपचारका क्रममा बेलुका ५.३० बजे मृत्यु भएको थियो ।  मृतकका श्रीमान, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् ।

मनमोहन विरामीको के कारणले मृत्यू भएको अस्पतालले अहिले सम्म पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

मृतकका छोराछोरीको पालनपोषण , शिक्षादिक्षाको लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्नुपर्ने आफूहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । उनले मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँएर अन्यत्र लैजान नदिएको बताए ।

हिजो साँझ आन्दोलन गरेका मृतकका आफन्तहरुले आज विहानदेखि फेरि अस्पतालअगाडि होहल्ला गरिरहेका छन् । बाक्लो उपस्थिति रहेको प्रहरीले अस्पतालभित्र कसैलाई प्रवेश गर्न दिएको छैन । मृतकको शव अस्पतालको आइसियुमा रहेको जनाइएको छ । समस्याको समाधानका लागि इलाका प्रहरी कार्यालयमा छलफल भएपनि निश्कर्ष आउन सकेको छैन ।

तर मनमोहन अस्पतालका निर्देशक रोमनी भट्टराईले भने बिरामीका आफन्तसंग सहमति भएको दाबी गरे । उनले घटनाको यर्थाथ पत्ता लाउन छानविन समिति गठन गर्ने सहमति भएको दाबी गरेका हुन् । उनले अस्पताल तोडफोडमा संमलग्नलाई पक्राउ गरी क्षतिपूर्ति तिराउन बिषयमा पनि प्रहरी प्रशासनसंग अस्पताल प्रशासनले माग गरेको दाबी गरे । 

यता इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक  रमेश राइले पनि  सहमती भएको दाबी गरे । उनले आफुहरुको रोहबरमा नभई मृतकका आफन्त र अस्पतालसंगको के सहमति भयो थाहा नभएको बताए ।