बिर्तामोडमा हिजो सोमबारदेखि शुरु भएको कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ मा ग्राहकहरुको संख्या बढ्दै गएको छ ।
बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा आयोजना गरिएको महोत्सवमा ग्राहकको सङ्ख्या बढ्दै गएको हो ।
‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव माघ ९ गतेसम्म चल्नेछ । पहिलो दिन करीब ४ लाख रुपैयाँको कारोबार भएको र आज दोस्रो दिन पनि राम्रो कारोबार हुने अनुमान गरिएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा रन शुज इन्डष्ट्रिजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।
महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । ग्राहकले २० देखि ५० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।
महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज , लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज , शुभकामना फुटवेयरको फस्टवाक शुज , स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज , डी. जे. शुज कम्पनीको डीजे शुज , एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ ।