काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बेग्लै ढङ्गले सरकार चलाएर कामलाई तीव्रता दिने घोषणा गरेका छन् । 

प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर उनले अब आफूले बेग्लै ढङ्गले काम गरेर सरकारी कामलाई नागरिकले महसुस गर्ने बनाउने बताएका हुन् । 

आफू अपरिहार्य र महत्त्वपूर्ण कार्यक्रममा बाहेक काठमाण्डौबाहिर नजाने र यसै हप्ता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिर्वतन गर्ने घोषणा गरे । 

पूर्वाधार विकास बेलैमा सम्पन्न नहुनुका कारण रुख कटान र जग्गाको मुआब्जा हो भनेर धेरैले भन्ने गरेको भन्दै प्रधानन्त्री प्रचण्डले अब खुद्रा समस्याको हल नभई नीतिगत र कानुनी हिसाबले नै समाधान गर्ने बताए ।