गैरसरकारी संस्था सहारा नेपालले सञ्चालन गरेको विश्वास परियोजनाको प्रभावकारीता देखिएको छ ।  उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ शिशु स्याहार र अपाङगता भएका व्यक्तिहरुको स्वास्थ्य सुधारमा काम गर्दै आएको परियोजनको सञ्चालनको दुई बर्षको अवधिमा  यसको प्रभाव देखिन थालेको हो । 

फेयरमेड फाउण्डेसन नेपासँगको साझेदारीमा सहारा नेपालले झापा र मोरङमा   परियोजना सञ्चालन भइरहेको छ ।   

स्थानीय स्वास्थ्य प्रणालीलाई सुदृढ पार्दै समुदायलाई परिचालन गरी नागरिकको स्वास्थ्य सुधार गर्ने मुख्य लक्ष्य सहित थालिएको परियोजनाका कारण स्वास्थ्यको क्षेत्रमा अहिले धेरै सुधार आएको बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।  

परियोजना थालनी भएको यो अवधि सम्म आइपुग्दा  उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ शिशु स्याहार र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यमा उल्लेखनिय सुधार आएको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए ।

ग्रामिण भेगका विपन्न समुदायका नागरिकको स्वास्थ्यप्रतिको अधिकार स्थापित गर्नका लागि चेतनामुलक कार्य अघि बढाइएको  सचिव महेन्द्रकुमार गिरीको भनाई छ । 

कुष्ठरोग, हात्तीपाइले, जुका, डेंगी, कालाजार, सर्पदंश, रेबिज, लुतो र फित्तेजुकाको जोखिमलाई न्यूनीकरण गर्न सरकारले अघि सारेको नीतिअनुसार सहकार्य गर्दै संस्था अघि बढेको उनी बताउंछन् । 

परियोजना सुरु भएको दुई वर्षमा यसको प्रभाव देखिन थालेको फोकल पर्सन पवनकुमार राई बताउंछन् ।  उनले यो परियोजना  चार वर्षसम्म सञ्चालन हुने बताए । 

pic matrika

सामाजिक संस्कार, लाज र डरका कारण कतिपय रोगहरु लुकाउने गर्नाले समस्या जटिल बन्ने गरेको उनको भनाई थियो । परियोजना सञ्चालन पश्चात  झापा गाउँपालिकामा अहिले अस्पतालमा सुत्केरी गराउन आउने मुस्लिम समुदायका महिलाहरुको सङ्ख्यामा बृद्धि भएको उनको भनाई छ । 

सहाराले बर्थिङ सेन्टर सञ्चालनका लागि करिब ८ लाख मूल्यबराबरको उपकरण प्रदान गरेपछि त्यहाँ सुत्केरी गराउन आउनेको संख्या बढेको सहारा नेपालका परियोजना संयोजक मातृका सुवेदीले जानकारी दिए । 

स्वास्थ्य क्षेत्रको सुधारमा १० प्रकारका रोगसँग सम्बन्धित रहेर सरसफाइ, जनचेतनामुलक कार्य लगायतका गतिविधि सञ्चालन गर्न परियोजनाले झापा , मोरङ र सुनसरीमा गरी  ४ बर्षकालागि २२ करोड रकम छुट्याएको  जनाइएको छ ।