बिर्तामोड : चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्न नसक्दा गम्भिर समस्या उब्जिएको सरोकारवालाले बताएका छन् ।
चिया उत्पादनदेखि बजारीकरणसम्म समस्या रहेको भन्दै सम्बन्धित निकायले ठोस पहल गर्न नसकिरहेको बेथितिको चिया सम्बद्धले चर्को आलोचना गरेका हुन् ।
ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूट तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको आयोजनामा बिर्तामोड स्थित पाँचतारे होटल द किंङ्सवरीमा आयोजित नेपालमा चिया उद्योगको दिगोपन सुदृढका लागि सरोकारवालासँग एकदिने कार्यशाला गोष्ठीमा चिया उद्योगी तथा व्यवसायीले सो कुरा बताएका हुन् ।
जीजीजीआईले कोशी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशका चिया क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने उदेश्यले झापामा चिया उद्योगी, ब्यवसायी, किसानसँग कार्यशाला गोष्ठी गरेको हो ।
कार्यक्रममा जीजीजीआईका सिनियर अफिसर पुरुषोत्तम गुप्ताले परियोजनाको कार्य विवरण र चिया क्षेत्रमा गर्ने सहयोगका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालयका बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले चिया क्षेत्रका समस्या, चिया क्षेत्रको हालका अवस्था बताउँदै समस्या र सुधारका बिषयमा बताएका थिए । एग्रीकल्चर टेक्नोलोजी सेन्टरका इशुशंकर श्रेष्ठ र अफिसर प्रशान्त राउतले चिया क्षेत्रका समस्यालाई समाधान गर्ने उपायहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागि उद्योगी तथा व्यवसायीले चिया खेतीमा सिँचाइको व्यवस्था, विज्ञबाट अनुसन्धानको अभाव, रोग, विषादिका विषयमा अज्ञानता रहेको पनि उल्लेख गरेका थिए । यसैगरी, चिया प्रशोधन परम्परागतरुपमा रहँदा गुणस्तरीय चिया उत्पादन गरी निर्यात गर्न नसकेको, जनशक्तिका लागि महिलामैत्री प्रविधि नभएको, प्रविधि विशेष तालिमको अभाव रहेको, प्रमाणीकरणमा झञ्झटिलो प्रक्रियाका बारेमा पनि सरोकारवालाले औँल्याएका थिए ।
कार्यक्रममा चिया उत्पादक संघका केन्द्रीय उपाध्यक्ष आदित्य पराजुली, चिया उत्पादक तथा व्यवसायी गोपाल दाहाल, उत्तम श्रेष्ठ, पर्वत डाँगी, उरुषा चापागाई, ज्योति अधिकारी, नविन चापागाईलगायतले आफ्ना भनाइ राखेका थिए ।
नेपाल, भारत र श्रीलंकामा ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूटले चिया तथा कफीका लागि बजारीकरणमा सहयोग गर्न र चिया मजदुर, उद्योगी, व्यापारीको हितमा योजना सञ्चालन गर्ने जनाएको छ ।