झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लवले दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ ।

हालै चारपानेमा सम्पन्न क्लबको वार्षिक साधारणसभामा दाताहरूले दिएको रकमको आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

एकता स्पोर्टिङ क्लबको अक्षय कोष स्थापनार्थ गत असोज २५ गते देखि सुरु भएर कार्तिक ३ गते समापन भएको प्रतियोगितामा १७ लाख ४२ हजार ६९४ रुपैयाँ आम्दानी भएको र  प्रतियोगिता सम्पन्न गर्न १० लाख ५३ हजार १३३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । अक्षयकोषका लागि ६ लाख ८९ हजार ५६१ रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ ।

क्लबका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा आयोजित सभामा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा  एकता स्पोर्टिङ क्लबलाई सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिर्तामोड २ का वडाध्यक्ष किशोर पौडेल, बिर्तामोड नगर शिक्षा शाखा प्रमुख केसर खवास, दाता समाजसेवी डिल्लीराम सिटौलालगायतले क्लबले गर्दै आएको गतिविधिहरू समाजका लागि उदाहरणीय रहेको र आगामी दिनमा पनि क्लबले अघि सारेको योजनाहरूमा साथ सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

सभामा माधव खरेलले स्वागत गरेका थिए । अध्यक्ष किरण पौडेलले प्रगति विवरण तथा आगामी कार्यविधि पेश गरेका थिए भने मोहनप्रसाद कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन रमेशकुमार उप्रेतीले गरेका थिए ।

यसै सभाबाट एकता स्पोर्टिङ क्लबको नयाँ कार्यकालको लागि समिति पनि चयन भएको छ ।

डम्बर देउजा संयोजक, भाष्कर लुइँटेल, दिल्लीराम सिटौला सदस्य रहेको निर्वाचन समितिले १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको अध्यक्षमा किरण पौडेल नै सर्वसम्मत चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्ष मोहनप्रसाद कोइराला, उपाध्यक्षमा खेमराज गिर र सूर्यबहादुर लिम्बुलाई चयन गरिएको छ । महासचिवमा रमेशकुमार उप्रेती, सचिव माधव खरेल, कोषाध्यक्ष दिवाकर मैनाली, सहकोषाध्यक्षमा कल्पना पोखरेललाई चयन गरिएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा मिलन उप्रेती, मदन अधिकारी, राजिव विष्ट, रामकृष्ण दाहाल, सुरसिंह विष्ट, किशन मुर्मु र प्रनेश श्रेष्ठ चयन भएका छन् ।

अक्षयकोषमा रकम वृद्धि गर्न आगामी वर्षहरूमा पनि जिल्ला स्तरीय खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै जाने क्लबको लक्ष्य रहेको छ ।