्बर्तामोड । 

उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा उपलब्ध गराउने उदेश्यले मेची मत्स्य व्यवसायी कृषक संघले खुद्रा बिक्री केन्द्र स्थापना गर्न थालेको छ । 

संघले बिर्तामोड स्थित भद्रपुर रोडमा पहिलो पटक माछा बिक्री केन्द्र स्थापना गरेको हो । संघका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटीले खुद्रा बिक्री केन्द्र स्थापना गरेका हुन् । उनले बिर्तामोड नगरपालिका–१० मा माछा फर्म सञ्चालन गरिरहेका छन् । उनले आफ्नो उत्पादन बिक्रीका लागि बिर्तामोडमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।  

नेपाल मत्स्य पालन किसान संघको अगुवाईमा बिक्री केन्द्र स्थापना शुरु भएको जनाइएको छ ।  नेपालमा उत्पादित माछा बिक्री गर्ने योजना अनुरुप  संघले प्रमुख शहरहरुमा केन्द्र स्थापना गर्न सुरु गरेको संघका कोशी प्रदेश अध्यक्ष बिष्णुप्रसाद आचार्यले जानकारी दिए । 

शिवाकोटीले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तरीय माछा सुलभ मुल्यमा उपलब्ध गराउनका लागि बिक्री केन्द्र्र स्थापना गरेको बताए । 

भारतीय माछाका कारण नेपालमा उत्पादित माछाको बजार सधै मारमा पर्ने गरेको व्यवसायीको गुनासो छ । भारतीय माछा निर्वाध रुपमा नेपालमा बिक्री हुने क्रम नरोकिएका कारण नेपाली माछा उत्पादक पलायन हुने अवस्थामा रहेको शिवाकोटी बताउँछन् । 

नेपाली माछा पालक किसानलाई माछा बिक्रेता व्यवसायीबाट पनि असहयोग हुने गरेको गुनासो शिवाकोटीले गरेका छन् । धेरै मुनाफा आउने कारणले माछा बिक्रेताले भारतीय उत्पादन नै बिक्री गर्ने गरेको उनको भनाई छ । भारतीय माछामात्र बजारमा बिक्री गर्ने गरेका कारण नेपाली उत्पादनले बजार नपाउने गरेको हो । 

चोरी तस्करी भएर आउने माछा नियन्त्रणमा लिनसके नेपाली उत्पादनले बजार पाउने आसा उनीहरुको छ ।