बिर्तामोड :   बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने भएका छन् ।  निर्बाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी  गरेका हुन् । 

व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्य पदमा उम्मेदवारी दिने बताए । आफु बिर्तामोडमा वर्षौं देखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै उहांले यस क्षेत्रको प्रतिनिधित्व हुने गरि वाणिज्य संघको निर्वाचनमा  उठ्न लागेको जानकारी दिए । 

सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुनेगरि  काम गर्नसक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह गरेका छन् । 

यस अघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ ।

ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सपोर्ट रहेको बताए । उनले ढुवानी व्यवसायीको प्रतिनिधिकारुपमा खत्रीलाई अघि बढाइएको जानकारी दिए । व्यवसायी खत्री सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् । 

बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन मिति घोषणा भएसंगै चुनावी गतिविधि बढेको छ । संघका वर्तमान महासचिब अर्जुनकुमार मैनाली अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा भएपछि चुनावी मैदानमा छन् ।   वाणिज्य संघको निर्वाचन फागुन १४ गते तय गरिएको छ ।