कचनकवल ः
दक्षिणी झापाको कचनकवल गाउँपालिकामा आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १ हजार बढी ले सेवा लिएका छन् । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोग र समाजसेवी सूर्यप्रसाद रिमालको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
सहाकारीले सामाजिक उत्तरदायित्व अन्तरगत कचनकवल–२ सुकुनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको प्रागंणमा आइतबार र सोमबार स्वास्थ्य शिविरको आयोजना गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
बचत तथा ऋण कारोबारमा मात्र केन्द्रित नभइ सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले सदस्य सहित विपन्न बर्गको स्वास्थ्यमा सहयोग गर्न शिविर आयोजना गरेको उनले बताए ।
उद्धघाटन कार्यक्रम संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीको प्रमुख आतिथ्यतामा भएको थियो ।
नोबेल अस्पतालका मार्केटिङ अफिसर नविन दाहालको नेतृत्वमा अस्पतालका जेनेरल फिजिसियन डा. सुदीप सिंह, स्त्री रोग विशेषज्ञ दिपाली चौरसिया, बालरोग विशेषज्ञ सयिम आलम, सर्जन डा. अञ्जली साह, दन्त चिकित्सक एलिसा चापागाईं, नाक, कान, घाँटी रोग विशेषज्ञ डा। राजेश राय र हाडडोर्जी रोग विशेषज्ञ डा. प्रकाश राय लगायत १७ जनाको चिकित्सकीय टोलीले शिविरमा स्वास्थ्य परीक्षण गरेको थियो ।
शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । संस्थाले सदस्यको आवश्कता अनुसार कृषि, स्वास्थ्य, शिक्षा, रोजगार लगायतको क्षेत्रमा काम गरिरहेको संस्थाका कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए ।
सदस्य बिरामी हुँदा संस्थाले ५० प्रतिशतसम्म उपचार सुविधा दिँदै आएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जनाकारी दिए ।
झापा, मोरङ, इलाम र पाँचथर जिल्ला गरी ५० वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीमा ६१ हजार ३ सय ७९ जना शेयर सदस्य रहेका छन् ।