बिर्तामोड :
झापामा आज एकै दिन तीनजना मृत भेटिएका छन् । दुईजना झुन्डिएको अवस्थामा र एकजना भवनभित्र मृत भेटिएका हुन् । आज बिहान ६.३० बजे बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका वडा नम्बर ८ जितपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ झुन्डिएको अवस्थामा भेटिएका थिए ।
रुखमा सलको पासो लगाई उनी झुन्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार तामाङ चार दिनअघि घरबाट हिँडेका थिए ।
त्यस्तै, शिबसताक्षी १० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र मागी खाई हिँड्ने पुरुष मृत भेटिएका छन् । मृतक धरान ६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ ।
उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको जनाइएको छ ।
त्यस्तै, आज बिहान ११ः३० बजेको झापा गाउँपालिका ३ गैरीगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुसा पराजुली आफ्नै घरको आफू सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागेर झुन्डिएको अवस्थामा भेटिएको थिइन् ।