बिर्तामोड 

 नक्कली नम्बर प्लेट लगाएर चलाइरहेको चोरीको एउटा बोलेरो पिकअप र छवटा मोटरसाइकल झापा प्रहरीले नियन्त्रण लिएर भन्सार बुझाएको छ ।  प्रहरीले विशेष सूचनाका आधारमा दमकबाट मे १ च २१७५ नम्बर भएको पिकअप नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, भद्रपुर लगायतका राजमार्गका विभिन्न स्थानबाट मे २ प १६५७ नम्बरको अपाची, को १३ प ३१५२ नम्बरको पल्सर, को ६ प ४५७८ नम्बरको पल्सर, मे ६ प १७७३ नम्बरको सुपर स्प्लेन्डर, मे ७ प ७०३४ नम्बरको पल्सर र मे ११ प ६३३९ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

ती साधनहरूमा उल्लेख भएका नम्बर प्लेट अन्य व्यक्तिको नाममा दर्ता रहेको यातायात कार्यालयबाट खुलेपछि आवश्यक कारबाहीका लागि मेची भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । प्रहरीका अनुसार पिकअपलाई १३ लाख र मोटरसाइकलहरूलाई ६ लाख गरी १९ लाख रुपैयाँ मूल्यांकन तोकेर भन्सार बुझाइसकेको हो । 

चोरीका सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर जिल्ला विभिन्न स्थानमा चलिरहेको सूचना प्राप्त भएपछि झापा प्रहरीले त्यसतर्फ सक्रियता बढाएको दाबी गरेको छ ।