बिर्तामोड : सातौँ संस्करणको भाक्का दिवसको तयारी पूरा भएको छ । यहि पुष २९ गते हुने भाक्का दिवसको तयारी पुरा भएको आयोजक राजवंशी समाज विकास समितिले आयोजनास्थल बिर्तामोड ३ स्थित डोमलाल राजवंशी रंगशालामा आज पत्रकार सम्मेलन गरेर जनाएको हो । 

राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले प्रत्येक बर्ष राष्ट्रिय भाक्का दिवस मनाइँदै आएको समितिका अध्यक्ष अभय राजवंशीले जानकारी दिए । 

समितिका अध्यक्ष राजवंशीका अनुसार कार्यक्रमको तयारी पुरा भएको छ । यस पटक कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सहभागी हुनेछन् । 

भाक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए ।

यो वर्ष भाक्का दिवसमा १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन् ।

कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने पक्का भएको छ । पश्चिम बंगालको अलिपुरद्वारकी उनी सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरको तेस्रो हुन् । त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष शाह पनि कार्यक्रममा आउने आयोजकले जानकारी दिएको छ ।