कनकाई :  लैंगिक हिंसा पीडित महिलालाई झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप अविबृद्धि गर्न अनुदान रकम हस्तान्तरण गरेको छ ।

लामो समयदेखि परिवारबाटनै हिंसामा परेका नगरभरिमा रहेका महिलाहरूको पहिचान गरि विभिन्न व्यवसाय सञ्चालन गर्दै जिविको पार्जन गर्दै आएका हिंसा पीडित महिलालाई आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी सो रकम हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिइन् । 

कनकाई–९ कि रचना प्रसाईं विगत ९ वर्षदेखि श्रीमानको हिंसा सहन नसकेर सम्बन्धविछेच्द गरी झोला बनाउने काम गर्दै आएको र दुई छोरीलाई शिक्षा सहित पालनपोषण गर्दै व्यवसाय अगाडि बढाउँदै गर्दा नगरबाट प्राप्त यो ३० हजार रुपैयाँले थप ब्यवसाय बढाउँदै लैजाने बताइन् । 

त्यस्तै, कनकाई–९ की कमला भुसालले पनि श्रीमानको हिंसा सहन नसकेर पाँच वर्ष अघि सम्बन्धबिछेच्द गरी घैलाडुब्बा बजारमा पालर व्यवसाय सञ्चालन गर्दै आएको बताए । 

एक छोराकी आमा समेत रहनुभएकी कमलाले यही व्यवसायबाट दुःखले जीवनयापन गर्दै आएको सुनाइन् । आज नगर बाट प्राप्त यो ३० हजार रुपैयाँले थप ब्यवसाय बढाउदै लैजाने उनले  प्रतिबद्धता जनाइन् । 

नगद रकम पाउने पारिवारिक हिंसा पीडित महिलामा कनकाई–२ की मिना भुजेललाई व्यवसाय थपका लागि ३० हजार रुपैयाँ, कनकाई–३ की पार्वता बिमलीलाई खाद्यान्नका लागि १० हजार रुपैयाँ, कनकाई–२ की बिना लिम्बूलाई औषधि उपचारका लागि १० हजार रुपैयाँ, बालकुमारी बजगाईंलाई व्यवसाय थपका लागि ३० हजार रुपैयाँ र कनकाई–१ की सहना माझीलाई औषधि उपचारका लागि २० हजार रुपैयाँ उपलब्ध गराइएको कार्यक्रम संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिइन् । 

उपप्रमुख शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको बताउँदै महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् । 

कार्यक्रममा न्यायिक समिति सदस्य नवलकिश्वर दत्त, कार्यपालिका सदस्य कृष्णमाया भुजेल लगायतले मन्तव्य राख्दै पारिवारिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिइन् । 

नगर उपप्रमुख शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत तथा सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख खतिवडाले गरेकी थिइन् ।  कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा समेत प्रदान गरिएको थियोे ।