काठमाडौं । मलेसियामा एउटै कम्पनीमा काम गर्ने नेपालीको हत्या गरेर नेपाल फर्किने क्रममा पक्राउ परेका महोत्तरीका २४ वर्षीय अनिल साहलाई जेल चलान गरिएको छ ।

साहलाई मंसिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । झापाका धनबहादुर प्रधानको हत्या गरेको आरोपमा पक्राउ परेका साहलाई अदालतबाट जेल चलान गर्ने आदेश भएको काठमाडौं प्रहरी प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक र साह मलेसियाको हर्ताज भन्ने कम्पनीमा क्लिनरका रूपमा काम गर्दै आएका थिए । कम्पनीमा इन्चार्ज रहेका प्रधानसँग लामो समयदेखि साहको सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

डिसेम्बर ११ तारिख बिहान पनि यी दुईबीच सामान्य विवाद भएको थियो । ५ जना मात्र काममा निस्कन बाँकी थियो । त्यही बेला अन्य ३ जना नभएको मौका छोपेर साहले प्रधानको टाउकोमा हानेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कम्पनीमै पासपोर्ट छाडेर भागेका साह त्यसपछि मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए । नेपाली दूतावासले नेपाल फर्कने डकुमेन्ट तयार गरिदिएपछि उनी मंसिर ३० गते त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।

nepalpress.com