बिर्तामोड :  झापाको बिर्तामोड( ३ बिर्ताबजारमा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयले ६६ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधाका अग्रजहरुलाई सम्मान गरेको छ ।

विद्यालयले उत्कृष्ट शिक्षक, दीर्घसेवी शिक्षक, पूर्वप्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष र भूतपूर्व विद्यार्थीलाई विद्यालयले सम्मान गरेको हो ।

उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनेहरुमा बालविकासतर्फ छत्रकुमारी कार्की, प्राथमिक तहतर्फ गीतादेवी भट्टराई र डिल्लीराज निरौला, निम्न माध्यमिक तहतर्फ रामचन्द्र सिटौला र माध्यमिक तहतर्फ इन्दिरा वस्ती रहेका छन् ।

त्यस्तै, दीर्घसेवा सम्मानबाट भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल, पुष्प पौडेल, तुलसा सिटौला, विजय उप्रेती, नेत्र खरेल र चन्द्र प्रसाईं रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षमा लोकबन्धु कन्दङवा, निरा प्रधान, ठगबहादुर खड्का र रामनारायण चौधरी रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु स्वर्गीय लक्ष्मण खड्का र स्वर्गीय पर्शुराम सिटौलालाई मरणोपरान्त सम्मान गरिएको छ ।

पूर्वप्रधानाध्यापकहरु देवेन्द्रकुमार गौतम, मोहनप्रसाद ओली र मनबहादुर पाहिम र अवकाश प्राप्त शिक्षकहरु दिलकुमार मुखिया, विजय ओली, कृष्णप्रसाद तिम्सिना र रविन शर्मालाई पनि सम्मान गरिएको छ ।

महेन्द्ररत्न तारा पुरस्कृत

वार्षिकोत्सवकै अवसरमा नगरस्तरीय महेन्द्ररत्न ताराको सिजन २ का विजेताहरुलाई पुरस्कृत गरिएको छ ।

बुधवार सम्पन्न त्यस गायन प्रतियोगितामा देवी माविका अभिषेख कटुवाल प्रथम, सांगवेद माविका अमित अधिकारी दोस्रो र मोहनमाया माविका विशेषता अधिकारी तेस्रो भएका थिए । उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, विशिष्ट अतिथि प्रदेशका पूर्वमन्त्री तथा सांसद भक्तिप्रसाद सिटौला, कार्यक्रमका अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेढाईंलगायतले दोसल्ला, सम्मानपत्र र फूलमालाले सम्मान गरेका थिए ।

१० लाखको अक्षय कोषको घोषणा

वार्षिकोत्सवको अवसरमा १० लाख रुपैयाँको स्वर्गीय सुरेश पाठक स्मृति अक्षय कोषको घोषणा गरिएको छ । स्वर्गीय सुरेश पाठकको सम्झनामा उनको परिवारका तर्फबाट कुलभूषण पाठक र सीता पाठकले सो अक्षयकोषको घोषणा गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की, विशिष्ट अतिथि पूर्वमन्त्री सिटौला, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा विकास समन्वय इकाइ झापाका प्रमुख राजकुमार विक, सम्मानित व्यक्तित्व लोकबन्धु कन्दङवालगायतले मन्तव्य राखेका थिए ।

सहायक प्रधानाध्यापक केशव प्रसाईंले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षकहरु तुलसी खरेल र भोजराज दाहालले गरेका थिए ।