झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित पूर्ण मेचे (उप) स्मृति प्रतिष्ठानले डेढ दर्जनबढी सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तित्व सहित कलाकारहरुलाई सम्मान गरेको छ ।
मेचेको प्रथम स्मृति दिवसको अवसर पारेर आज आइतवार मेचीनगर–१२ स्थित बिचकामत धाइजनमा उनीहरुलाई सम्मान गरिएको हो । प्रतिष्ठानले नायक सुवास मेचे, गायक श्रीकृष्ण लुईटेल (बोकेदाह्ी) हास्य कलाकार तथा अभिनेता विलसन बिक्रम राई (तोक्मेबुढा), कलाकारहरु याम खरेल, अर्जुन पोखरेल, कुमार सिलवाल, नृत्य निर्देशक सुनिल थापा, सन्तोष खवास, सेवीलाल मेचे, सुवेन मेचे, लोकबहादुर मेचे, अर्जुन पोखरेल झापालीलाई सम्मान गरेको प्रतियठानका अध्यक्ष विपिन प्रसाईले जानकारी दिए । त्यस्तै प्रतिष्ठानले खेलाडीहरु कालु मेचे, कृष्ण धमला, समाजसेवी रामबहादुर मेचे, सोनालाल मेचे, रघुनाथ पाठकलगायतलार्ई सम्मान गरेको छ ।
त्यसैगरी मरणोपरान्त सम्मानबाट स्व. चन्द्रबहादुर थापाका छोरा दिलबहादुर थापा, स्व. बहादुरसिंह मेचेकी श्रीमती पुर्णी मेचे र स्व.शान्तिराम निरौलाका छोरा हरि निरौलालाई सम्मान गरिएको अध्यक्ष प्रसाईले बताए ।
साथै सोही कार्यक्रममा बिभिन्न केलकुदका प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा छोटो र लामो दुरीको दौड प्रतियोगिता, फुटवल प्रतियोगिता, कराँते प्रतियोगिता, आलु खेल साथै नृत्य र गायन सहतिका अन्य प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष विपिन प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व बागमती प्रदेश प्रमुख बिष्णु प्रसाई , मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकी, प्रतिष्ठानका अध्यक्ष विपिन प्रसाई लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
मेचीनगर ११ का पूर्व वडाध्यक्ष सन्तोष मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन कलाकार कृष्ण अनमोलले गरेका थिए ।