बिर्तामोड । 

बिर्तामोडको अधुवा खोलाको पुलमुनि बस्दै आएका एक बालकको उद्धार गरिएको छ । कठ्यांग्रिने जाडोमा पुल मुनी बस्दै आएका झापा अर्जुनधाराका एक बालकको उद्दार गरिएको हो । 

अर्जुनधारा ५ स्थित कञ्चनबारी घर बताउने सेवलाल चौधरी र स्व गीता चौधरीका १० वर्षीय छोरा आकाश चौधरीलाई बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीलगायतको टोलीले पुलमुनिबाट उद्धार गरेको हो । 

ती बालक विगत दुई महिनादेखि त्यही पुलमुनि र आसपास क्षेत्रमा बस्दै आएका थिए । 

बेवारिसे अवस्थामा भेटिएका ती सडक बालकको ठेगाना पत्ता लागेपछि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनलाई खबर गरिएको थियो । 

नगर प्रमुख गोम्देनको पहलमा नगरपालिकाले परिवारलाई बुझाउनेगरी ती बालकको जिम्मा लिएको छ । 

अर्जुनधारा नगरपालिकाका नगर प्रहरी कमाण्डर आइन्द्र तामाङ र नगर प्रहरी श्याम आचार्यले परिवारलाई बुझाउने गरी ती बालकको जिम्मा लिएका हुन् । उद्दारका क्रममा ती बालकलाई न्यानो लुगा प्रदान गरिएको थियो । संरक्षणविहीन अवस्थामा बालकले घर छोडेर बाहिर बस्दै आएको बताइएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार मैनाली, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौला , बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेल , राइट एजुकेशन कन्सल्टेन्सीका नविन बोहोरा, अडीटर विवेक गिरी लगायतको उपस्थितिमा ती बालकलाई जिम्मा लगाइएको हो ।

अडिटर गिरीले ती बालकलाई न्यानो लुगा प्रदान गरेका थिए । ती बालक संरक्षणविहीन अबस्थामा घर छोडेर बाहिर बस्दै आएको बताइएको छ । नगर प्रहरीले ति बालक लाई परिवारको जिम्मा लगाएको कमाण्डर तामाङले जानकारि दिए।