बिर्तामोड । 

झापाको बिर्तामोड–७ मा रहेको सहिद नेत्र पार्क सञ्चालनका लागि श्रमदान अभियान सुरु गरिएको छ ।  तत्कालीन  भुटानी शरणार्थी शिविर रहेको सो स्थानमा निमार्ण गरिएको पार्कलाई सरसफाई गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न श्रमदान अभियान सुरु गरिएको हो ।  

सरकारको १०१ औं गन्तब्य सुचिमा सुचिकृत सरकारको २ करोड लगानीमा निर्माण गर्न सुरु गरिएको पार्क केही बर्षदेखि संरक्षणको अभावमा खण्डहर बनेको छ । 

 २२ बिगाहा क्षेत्रफलमा पार्क फैलिएको छ । पार्कमा निमार्ण गरिएका  अधिकांस संरचना अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् । 

श्रमदान मार्फत पार्क सञ्चालन गर्ने योजना अघि बढाइएको हो । बिर्तामोड नगरपालिका वडा न ७ को सक्रियतामा सुन्दर निचाझोडा सामुदायिक बन उपभोक्ता समुह, बिर्तामोडका राजनीतिक दल, संघ संस्था बिद्यार्थी लगायतको सहभागितामा एक सातासम्म श्रमदान अभियान सञ्चालन हुने वडाध्यक्ष कृष्णप्रसाद खरेलले बताए । 


खरेलले राज्यको ठुलो लगानी खेर जाने अवस्थामा पुगेकाले त्यसको संरक्षणका निम्ति स्थानीय सरोकारवाला स्वत स्फुर्त लागि परेको बताएका छन् । 

यसैबर्ष शौचालय, खानेपानी र बिजुली बत्ती उपलब्ध गराउने लक्ष्य लिएको सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेलले बताए ।