बिर्तामोड–

झापाको बिर्तामोड नगरपालिका–५ की माया पुलामी मगर हत्याको अभियोगमा  बिर्तामोड–८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय अनारमनीले आज आइतबार पत्रकार सम्मेलन गरी अभियुक्त प्रसाईलाई सार्वजनिक गरेको छ । पुलामीको 

माघ ८ गते बिहान ६ बजे अर्जुनधारा–६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा हत्या गरिएको थियो । 

पुलामीको हत्या अभियोगमा  बिर्तामोड ८ स्थायी घर भई हाल बिर्तामोड ५ मा बस्दै आएका ४६ वर्षीय प्रसाईंले हत्या गरेको स्वीकारेको प्रहरीको भनाई छ । 

हर्कलालमार्गमा दिलु मुखियाको घरमा कामको सिलसिलामा बस्दै आएका प्रसाईंले  अवैध शारीरिक सम्बन्ध कारण उनको हत्या गरेको  अनुसन्धानमा खुल्न आएको   इलाका प्रहरी कार्यालय अनारमनीका  डिएसपी सुरज कार्कीले जानकारी दिए । 

प्रहरीका अनुसार माघ ६ गते मृतक मगर र उनकी साथी ऐनु राईसँग प्रसाईंको भेट बिर्तामोड पश्चिम बसस्टेन्डमा भएको र सोही दिन राईले प्रसाईं र मगरबीच शारीरिक सम्बन्धका लागि सहमति गराएको अनुसन्धानबाट खुल्न आएको हो । 

प्रसाईंले सोही दिन मगरसँग आफू बस्ने घरमा लगेर एकपटक शारीरिक सम्बन्ध राखेको स्वीकारेका छन् । त्यस्तै, भोलिपल्ट प्रसाईंले मगरलाई खोज्दै उनी बस्ने ठाउँ अर्जुनधारा ६ को पुलचोक स्थित कभडहल नजिक पुगेका थिए ।

उनीहरुबीच भेट भई गफगाफका क्रममा प्रसाईंले मगरलाई बिहेको प्रस्ताव गरेका थिए । तर, बिहेको प्रस्ताव गर्दा मगरले प्रसाईंलाई झापड हानेकी थिइन । सोहि क्रममा प्रसाईले आबेगमा  बाटोमा रहेको ढुंगाले पटकपटक मगरको टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

मगरको हत्या गरेपछि ढुंगा  फ्याँकेर प्रसाईं घटनास्थलबाट पूर्वतर्फ लागेका थिए । प्रहरी निरीक्षक नरेश लिम्बूको नेतृत्वमा रहेको अनुसन्धान टोलीको निष्कर्षपछि प्रसाईंलाई माघ १३ गते बिर्तामोडबाट पक्राउ गरिएको हो ।

मृतक मगरका तीनवटा श्रीमान रहेको बुझिएको प्रहरीले जनाएको छ । उनी जेठो श्रीमानतर्फका छोरासँग बस्दै आएकी थिइन् । उनका पहिलो श्रीमान बस्नेत थरका, दोस्रो बुढाथोकी थरका र तेस्रो श्रीमान कुमार पुलामी मगर रहेका छन् ।

उनी घटना भएको केही दिनअघि छोराबुहारीको घर छाडेर अर्जुनधारा ६ मा गाउँघरमा काम खोज्दै बस्दै आएकी थिइन् । उनी दिनहुँ मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।