बिर्तामोड स्थित पूर्वाञ्चल क्यानसर अस्पतालले क्यान्सरसम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाएको छ । आज आइतबार अस्पतालले विश्व क्यान्सर दिवसमा विविध कार्यक्रम गरेको हो । 

नसर्ने रोगको जोखिम बढिरहँदा क्यान्सरको पनि जोखिम बढ्दै गएको तथा अस्पतालमा आउने बिरामीमध्ये महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र पुरुषहरूमा फोक्सोको क्यान्सर बढी देखिने गरेको पूर्वाञ्चल क्यानसर अस्पतालका डाइरेक्टर तथा क्यानसर रोग बिशेषज्ञ डाक्टर बिरेन्द्र यादवले जानकारी दिए । 

क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार गरे निको हुन्छ तथा रोकथाम गर्न सकिन्छ भनेर सचेत पार्नको लागि पनि जनचेतना मुलक कार्यक्रम गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । 

 क्यान्सर दिवसको अवसर पारेर क्यान्सर सम्बन्धी जनचेतना मुलक र्याली, साइकल यात्रा र सरोकारवाला निकायसंग अन्तरक्रिया गरेर क्यान्सर दिवस मनाइएको उनले जानकारी दिए । 

जनचेतना मुलक र्यालीमा गोमेन्द्र बहुमुखी क्याम्पसका बिद्यार्थी, प्रहरी, बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिले चेतना मुलक प्ले कार्डसहित र्यालीमा सहभागीता जनाएका थिए । 

झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित बिभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुबिच स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । 

पूर्वाञ्चल क्यान्सर अस्पतालको प्रविधिक सहयोगमा भएको कार्यक्रमको आयोजना रोटरी क्लब अफ बिर्तामोड मिडटाउनसँगको सहकार्यमा नेपाल क्यान्सर फाउन्डेसनले गरेको हो ।  

कार्यक्रममा क्यान्सर कसरी र के कारणले लाग्छ भन्ने विषयमा अन्तरक्रिया भएको थियो । नेपाल क्यान्सर फाउन्डेसनका संस्थापक तथा कार्यकारी अध्यक्ष डा. बिरेन्द्र कुमार यादवले झापामा विगत केही बर्षदेखिको क्यान्सर पीडितको डाटा प्रस्तुत गर्दै झापामा क्यान्सरको भयावह स्थिति सिर्जना भएको बताए । उनले क्यानसर न्युनिकरणका लागि बेलैमा स्वास्थ्य परिक्षण गर्ने, क्यान्सर देखा परेमा समयमै उपचार गराउन आग्रह गरेका थिए । 

कार्यक्रममा सहभागि बक्ताले राज्यले क्यान्सर रोकथामको लागि विशेष कार्यक्रम अघि सानुपर्ने औल्याउदैं  भोलिका दिनमा भयावह अवस्था आउन नदिन सबैले बेलैमा सोच्नुपर्ने बताएका थिए ।

क्यान्सर अस्पतालले उपचारात्मक सेवा मात्र नभएर प्रवर्द्धनात्मक सेवा पनि दिइरहेको डा. यादवले बताएका थिए ।  उनले देशका विभिन्न स्थानमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नका साथै क्यान्सर स्क्रिनिङ कार्यक्रमसमेत गरिरहेको बताए ।

उनले क्यान्सरका बिरामी अस्पताल नै ढिलो आउने गरेका कारण पनि उपचार सम्भव नहुने गरेको बताए ।