भद्रपुर जेसीज २०२४ को नेतृत्वले शनिबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । भद्रपुरको होटल सिभान्समा आयोजित भव्य समारोहका बीच सन् २०२४ का अध्यक्ष टिकाराम पाण्डे (दीपक)–सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी–सदस्यले कार्यभार सम्हालेका हुन् ।
झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेले सन् २०२४ का अध्यक्ष पाण्डेलाई आफूले लगाएको जेसीज चेन पहिर्याएर पद हस्तान्तरण गरेका थिए । भद्रपुर जेसीजका पूर्व अध्यक्षहरुले जेसी न्यौपानेको गलामा रहेको जेसीज चेन खोलेर नवनिर्वाचित अध्यक्ष जेसी पाण्डेको गलामा पहिर्याइदिएका थिए ।
निर्वाचन समितिका संयोजक भद्रपुर जेसीजका पूर्व अध्यक्ष जेसी अभिषेक ढुंगानाले निर्वाचित पदाधिकारीहरुको घोषणा गरेका थिए ।
नवनिर्वाचित कार्यकारी उपाध्यक्ष अभिषेक प्रधान र रविन कार्की तथा उपाध्यक्षहरु हेडम्बराज निरौला, सुरज श्रेष्ठ, आदित्य दास र भूपाल घिमिरेले पनि पदभार सम्हालेका छन् भने नवनिर्वाचित अध्यक्ष पाण्डेले बोर्डका अन्य पदाधिकारी, सदस्य र विभिन्न समितिका संयोजकहर मनोनित गरेका छन् । अध्यक्ष पाण्डेले महासचिवमा सरोज ढकाल र सचिवमा शेखर बुढाथोकीलाई जिम्मेवारी दिएका छन् ।
सो अवसरमा भद्रपुर जेसीजले भद्रपुर क्षेत्रमा बसेर सामाजिक तथा शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका शिक्षासेवी, समाजसेवी भद्रपुर–९ निवासी विष्णुप्रसाद शिवाकोटीलाई वर्ष उत्कृष्ट नागरिकको रुपमा सम्मान गरेयो । समारोहका प्रमुख अतिथि लिङदेन, प्रदेशसभा सदस्य छविलाल चूडाल, भद्रपुर नगरपालिकाका प्रमुख एवम् भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीलगायतले शिवाकोटीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । भद्रपुर जेसीजको यो ४८ औं पदस्थापन हो ।