बिर्तामोड 

झापाको बाह्रदशी गाउँपालिका –५ स्थित सहिद प्रजापति स्मृति प्रतिष्ठानको आयोजनामा  आगामी फागुन २१ गते ‘बृहत जनवादी गीति कार्यक्रम–२०८०’ हुने भएको छ ।

राष्ट्रियस्तरको बृहत जनवादी गीति कार्यक्रम हुने आज प्रतिष्ठानले आयोजना गरेको गरेको पत्रकार भेटघाटमा जनाइएको हो । 

जनवादी गीत–संगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार वरिष्ठ जनवादी गायक राजन राईको साथमा झापामा पहिलो कार्यक्रम गर्न लागिएको हो । 

सहिद प्रजापति सापकोटालाई राष्ट्रिय सहिद घोषणा गर्न दबाब दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको दिगो विकास र संरक्षण गर्ने, संस्थाको जग्गा घेराबारा तथा बहुउपयोगी सामुदायिक भवन निर्माणको कार्यलाई सम्पन्न गर्न, सहभागिता र सुनिश्चित्तता गर्ने लगायतका उद्देश्य राखेर जनवादी कार्यक्रम आयोजना गर्न  लागिएको प्रतिष्ठानका सह सचिव अनिल सापकोटाले जानकारी दिए ।  

तत्कालीन पञ्चायतकालमा बेला गाइएका सदाबहार जनवादी गीतहरुलाई बाध्यबाधनका साथमा प्रत्यक्ष प्रस्तुति दिइने जनाइएको छ । 

सनलाइट म्युजिक स्टुडियो बिर्तामोडको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङसहित स्थानीय कलाकारको प्रस्तुति दिनेछन् । 

सोही कार्यक्रममा जग्गादाता तथा घटनाका समकक्षीहरुलाई सम्मान गर्ने, साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यको सदस्यता वितरण गर्ने प्रतिष्ठानले जनाएको छ ।

पत्रकार सम्मेलनमा बरिष्ठ जनवादी गायक राजन राईले तत्कालीन अवस्थामा बोल्न नपाइने भएकाले गीत–संगीत, साहित्यिक रचनामार्फत् परिवर्तनका पक्षमा आवाज उठाइने गरेको स्मरण गरे । 

पत्रकार सम्मेलनमा सनलाइट संगीत विद्यालयकी हेमा योञ्जन भण्डारी, प्रतिष्ठानका गायक गोपाल योङहाङ, भूपाल शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । 

२०४३ सालमा तत्कालीन कम्युनिष्ट पार्टीको निर्देशनमा बेदराज रेग्मी, गुरुप्रसाद मैनाली, चन्द्र योङहाङ, रुद्र शिवाकोटी लगायतका अगुवा कम्युनिष्ट कार्यकर्ताहरुको अगुवाईमा जनवादी गीत संगीतका साथ खेलिएको देउसीभैलो घरदैलो कार्यक्रम तत्कालीन निरङकुश पञ्चायति व्यवस्थावादी समर्थकहरुको झुण्डले सुनियोजित तवरबाट आक्रमण गर्दा अग्रज कम्युनिष्ट कार्यकर्ता प्रजापति सापकोटाले सहादत प्राप्त गरेका थिए ।