बिर्तामोड ।
झापाको बिर्तामोड स्थित एमिटी एजुकेशन फाउण्डेशनले विविध कार्यक्रम गर्दै २५ औं वार्षिकोत्सव मनाएको छ । आज विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मौलिकता झल्कने बिभिन्न सास्कृतिक प्रस्तुती राखेका थिए ।
विद्यालयका प्रिन्सिपल राधेश्याम ढकाल (आरएस) को अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीले सास्कृतिक कार्यक्रम अन्तरगत नृत्य, गायन, प्रहसन प्रस्तुती गरेका थिए ।
दुई दिनसम्म मनाइने बार्षिकोत्सव अन्तरगत आज कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थी सहभागि थिए । कार्यक्रममा जुनियर थ्रेटर क्लवले नाटक समेत प्रस्तुत गरेको थियो ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर कक्षा गत रुपमा प्रत्येक कक्षाबाट तीन जनाका दरले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृतसहित सम्मान गरेकोे छ ।
विद्यालयका प्रिन्सिपल ढकालले स्वागतसहित विद्यालयको शैक्षिक गतिविधि माथि प्रकाश पारेको कार्यक्रममा सहायक प्रिन्सिपल कुलप्रसाद खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा २० वर्ष सेवा पूरा गर्ने शिक्षकहरुमा कुलप्रसाद खतिवडा र टीका ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै समय पालक शिक्षकका रुपमा गीता राई मुखियालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ७ जना अभिभावकलाई समेत सम्मान गरिएको भने दुई जना विद्यार्थीलाई ४३ हजार दुई सयका दरले पूर्ण रुपमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रिन्सिपल ढकालले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन शिक्षक गणेशप्रकाश आचार्यले गरेका थिए । भोली कक्षा ११ देखि ब्याचलर सम्मका विद्यार्थीको विविध कार्यक्रम हुने कलेजका को–अडिनेटर बिनोद शाहले बताए ।