बिर्तामोड ।
होटल ब्यवसायी देबीभक्त श्रेष्ठले आफुमाथि अन्याय भएको बताएका छन् । उनले सञ्चालन गरिरहेको काँकरभिट्टास्थित हिकोला हेरिटेजमा छोरा गौरव श्रेष्ठमाथि स्थानीय केहि युवाहरुको हुलहुज्जतले ज्यान मार्ने प्रयास गरेपनि सम्बन्धीत निकायलले यस बिषयमा चासो नदिएको बताए ।
झापाको बिर्तामोडको हिकोला हेरिटेज होटलमा आइतवार साँझ पत्रकार सम्मेलन गर्दै उनले छोरा गौरवमाथि आक्रमण भएको र होटलमा तोडफोड भएको बताएका छन् ।
होटलको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमको अघिल्लो दिन स्थानीय युवाहरुले आक्रमण गरेको उनको दावी छ ।
माघ २५ गते काँकडभिट्टास्थित होटलमा गौरवलाई स्थानीय केहि युवाहरुले कुटपिट गर्दै होटलबाट बाहिर निकालेको सीसी टिभी फुटेज पत्रकार सम्मेलनमा देखाइएको थियो । कुटपिटबाट उनको शरीरमा चोट समेत लागेको छ ।
छोरामाथि कुटपिट भएपछि श्रेष्ठले प्रहरी प्रशासनमा न्यायका लागि माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।
आइतवार पनि आफुमाथि दुव्र्यवहार भएको गौरवले बताएका छन् । मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईकै अगुवाईमा दुव्र्यवहार भएको गौरवको आरोप छ । पत्रकार सम्मेलनमा बाणिज्य संघका अध्यक्ष प्रसाईसहितका केही युवाले गौरवमाथि कुटपिट तथा लछारपछार गरेर दुव्र्यवहार भएको भिडियोमा देखिन्छ ।
सञ्चालक श्रेष्ठले सम्झौता अनुसार १२ वर्ष अझै होटल चलाउन पाउने दावी गरेका छन् । सञ्चालक श्रेष्ठले भाडा बुझाउन बाँकी समेत नरहेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले हिसाव गर्दा भाडा बुझाउनुपर्ने देखिए तत्कालै बुझाउन पनि तयार रहेको बताएका छन् ।
यता घरधनी पशुपति दाहालले तीन बर्षदेखि भाडा नपाएको बताएका छन् । उनले डेढ वर्षदेखि भाडाका लागि ताकेता गर्दा पनि नपाएको बताए ।
उनले घर भाडा तिर्न वा खाली गर्न पटक–पटक श्रेष्ष्ठलाई आग्रह गर्दापनि नटेरेपछि आफ्नो घरमा गएको बताए । त्यस परश्चात केही विवाद भएको उनले स्वीकारे । उनले आफुमाथि अन्याय भएपछि जिल्ला प्रशासन, इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका, होटल ब्यवसायी संघ मेचीनगरलगायतमा घटनाका बिषयमा जानकारी गराएको र गाउँलेको सहयोग घरभित्र प्रवेश गरेको बताएका छन् ।
घरधनी दाहालका अनुसार श्रेष्ठले तीन वर्षदेखि भाडा दिएका छैनन् । उनले तीन बर्षको १ करोड २३ लाख ७ हजार ५०० रुपैयाँ पाउन बाँकी मध्ये श्रेष्ठले ४९ लाख ५८ हजार ५०० रुपैयाँ दिएको र हाल ७३ लाख ४९ हजार रुपैयाँ भाडा पाउन बाँकी रहेको बताए ।
उनले उक्त घर नेपाल बैंकमा रहेको बताए । बैंकले आफुलाई किस्ता तिर्न पटक पटक ताकेता गरेपनि किस्ता तिर्न नसकेपछि बैंकले घर लिलामी गर्ने अवस्था आएपछि आफ्नो परिवार बिक्षिप्त भएको बताएका छन् । किस्ता र्तिन नसकेपछि आफुले होटल सञ्चालक श्रेष्ठलाई ताकेता गरेको उनी बताउँछन् ।
दाहाल भन्छन्, घर लिलामी हुन लाग्यो, भाडा दिनुस् भन्दा लिलामी भए म सकार्छु भनेपछि हडप्ने प्रपञ्च देखे । घर हडपिने डरले इप्रका, वाणिज्य संघ, जिल्ला प्रशासन, न्यायिक समितिमा उजुरी गरेको उनको भनाई छ ।
दाहालले श्रेष्ठको बिर्तामोडस्थित घरमै पुगेर भाडाको कुरा गर्दा कृटपिट गर्ने धाकधम्की दिएको सुनाए । आफ्नो घरमा भाडा नपाएपछि गुहार मागेको घरबेटी दाहालको भनाई छ । घरधनी दाहालका अनुसार बाणिज्य संघका अध्यक्ष प्रसाईको संयोजकत्वमा ७ सदस्यीय रिमूल्याकन समिति बनाइएको बताए । सामानको मूल्याकन गरेर श्रेष्ठले पाउने पैसा दिइने उनको भनाईछ ।
घरवेटीलाई दोस्रो पक्ष बनाएर सम्झौता गरेको घरको विवाद बारे पटक–पटक नगरपालिकामा छलफल भएको थियो । छलफलमा पत्र काटेर बोलाउदा समेत श्रेष्ठ सहभागी नभएको होटल ब्यवसायी संघ मेचीनगरका बरिष्ठ उपाध्यक्ष मानबहादुर गिरीले बताए । यस बिषयलाई लिएर मेची उद्योग बाणिज्य संघमा सोमवार (आज) पत्रकार सम्मेलन गरिएको थियो ।