मेचीनगर : झापाको बुद्धशान्तिमा  आजबाट प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले एक कार्यक्रमकाबिच पानसमा दियो बालेर प्रतियोगिताको उद्घाटन गरिन ।  प्रतियोगिताको आयोेजना बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले गरेको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै युवाहरुलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि राना मगर, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धीरेन्द्र साउद, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति गाउँपालिकाका खेलकुद विकास समिति अध्यक्ष पर्शुराम चेम्जोङ, प्रतिष्ठानका सचिव मदन मगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा सुरु भएका प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिका खेलिरहेका छन् ।

झापाका १५ वटै पालिकाको सहभागिता हुने प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।