अर्जुनधारा ।

अर्जुनधरा नगरपालिकाले झापाबाट सरुवा भएका जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख (एसपी) दुर्गाराज रेग्मी  र सशस्त्र प्रहरी बल २ गणका प्रमुख एसपी देवराज अर्याललाई विदाई गरेको छ । 

नगरपालिकाले आइतवार (आज) एक कार्यक्रमकाबीच दुई एसपीहरुलाई विदाई गरेको हो । नगरप्रमुख बलदेव गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले खादा, मालासहित मायाको चिनो प्रदान गर्दै विदाई उनीहरुलाई गरेका हुन् । 

त्यस्तै सरुवा भएर झापा आएका शसस्त्र प्रहरीका एसपी कबिन्द्र राईलाई नगरले स्वागत समेत गरेको छ । कार्यक्रममा नगरप्रमुख तामाङ र विदाई भएर जाने एसपी रेग्मी र अर्यालले झापा बसाईको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद सहित आभार प्रकट गरेका थिए ।  

झापामा नेपाल प्रहरीको नयाँ एसपी मिलन केसी आइतबार नै हाजिर हुने बताइएको छ । कार्यक्रमको सञ्चालन नगरका योजना अधिकृत हेमराज सेडाईले गरेका थिए ।