बिर्तामोड– 

व्यवसायमा लामो समय टिकिरहन त्यती सजीलो छैन । तर मेहनत , परिश्रम,लगनशिलता  निरन्तर गर्ने हो भने  असम्भब भन्ने केहि छैन । लामो समय सम्म व्यापारमा संलग्न रहेर आफू मात्र होइन, अरुलाई पनि रोजगारी दिन झनै कठिन छ ।  

बिर्तामोडका युवा व्यवसायी डिल्लीराम कोइराला त्यस्ता एउटा  पात्र हुन्, जो आफू मात्रै आत्मनिर्भर छैनन्, अरु धेरै जनालाई  पनि आत्मनिर्भरताको बाटोमा हिंडाइ रहेका छन् । 

बिर्तामोड उद्योग वाणिज्य सङ्घको फागुन १४ गते सोमबार हुने निर्वाचनमा राजु न्यौपाने  नेतृत्वको लोकतान्त्रिक  व्यावसायिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएका कोइराला मेचीनगरस्थित जनता पेन्टस प्रालिका सञ्चालकहरु मध्येका एक हुन् भने बिर्तामोडमा सञ्चालित एपोलो पेन्टसको सञ्चालक पनि हुन् । 

WhatsApp Image 2024-02-24 at 06.56.32

लामो समयदेखि रङ व्यवसायको क्षेत्रमा क्रियाशील रहेका उनी  उद्योग व्यापार व्यवसायमा युवाहरुको सहभागिता बढाउँदै लैजानुपर्ने धारणा राख्छन् । युवालाई आत्मनिर्भर हुने गरी उद्योग वाणिज्य संघले अवसरहरू सिर्जना गर्नुपर्ने उनको बिचार छ । 

व्यवसायमा युवाहरुलाई व्यवसायीक  सीप तथा क्षमताको विकास गरी उनीहरूलाई व्यवसायमा स्थापित गर्दै लैजाने दृढ अठोट र इच्छाशक्तिका कारण आफूले लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट खुला सदस्यमा उम्मेदवारी दिएको कोइरालाको भनाई छ ।  


मेचीनगरमा २०४० सालमा जन्मिएका कोइराला दुई दशकदेखि उद्योग वाणिज्य क्षेत्रमा आबद्ध छन् । सबै व्यवसायीमाझ चिनिएका कोइरालाले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् भने उनले थुप्रै सामाजिक संघसंस्थाको नेतृत्व  गरेका छन् । 

कोइराला सुगम शान्ति टोल विकास संस्थाका उपाध्यक्ष समेत हुन् । उनले ३५ जना बढीलाई रोजगारी समेत दिएका छन् । 

विभिन्न सामाजिक संघसंस्थामा कृयाशिल कोइराला कृष्ण प्रणामी युवा समाजका प्रतिनिधीको रुपमा सामाजिक क्षेत्रका सक्रिय छन् । उनले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको बिर्तामोडका युवा व्यवसायी तथा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य मदन अधिकारी बताउंछन् । 

व्यावसायिक क्षेत्रको हित, संरक्षण र सुरक्षाका लागि लड्ने कोइरालको योजना छ ।  अब आउने नेतृत्वले व्यवसायीहरुका लागि प्रभावकारी नीति तथा योजना ल्याउन आवश्यक रहेको बताउंदै कोइरालाले लोकतान्त्रिक प्यानलमा त्यस्ता उम्मेदवार रहेको बताउंछन् । 

उनले खुला प्रतिस्पर्धाको माध्यमबाट सङ्घको नेतृत्वमा आफूलाई मतदान गरी विजयी गराउन बिर्तामोडका आम उद्योगी, व्यवसायीलाई सार्वजनिक रुपमा अपिल पनि गरेका छन् ।