बिर्तामोड । अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको भोली हुने निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका कृष्ण पौडेलले बिर्तामोडका उद्योगी व्यवसायीको मन र मत जित्नेमा आफु विश्वस्त रहेको बताएका छन् । उनले केवल नतिजाको प्रतीक्षा गरिरहेको बताएका छन् ।

व्यावसायिक हित, संरक्षण र सुरक्षामा आफ्नो मुख्य चासो रहने बताउँदै महासचिवका उम्मेदवार पौडेलले आर्थिक संकटको विषम यो परिस्थितिमा पलायन भइरहेका व्यवसायीहरूको संरक्षणका लागि नयाँ नीति ल्याउनुपर्ने बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघको वर्तमान नेतृत्वले विस्थापित हुन लागेका र विस्थापित भइसकेका व्यवसायीसँग एकपटक पनि दोहोरो संवाद र छलफल नगरेकोप्रति असन्तुष्टि जनाएका महासचिवका उम्मेदवार पौडेलले संस्थागत सुदृढीकरणका लागि पनि महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुपरेको उल्लेख गरे ।

चुनावी प्रचार अभियानका सिलसिलामा आज मध्यान्न पत्रकारसँग संक्षिप्त कुरा गर्दै महासचिवका उम्मेदवार पौडेलले हिजो नेतृत्वमा बसेर काम गर्नेहरूको कार्यक्षमता जाँच भइसकेकाले नयाँ अनुहारहरुलाई नेतृत्वमा प्राथमिकता दिने गरी उद्योगी व्यवसायी मतदाताले धारणा बनाएको दाबी गरे । 

लामो समयदेखि बिर्तामोडमा बसेर व्यापार व्यवसाय गर्दै आएका पौडेल व्यावसायिक क्षेत्रका कुशल व्यक्तित्व पनि हुन् । सहकारी लगायतका विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका पौडेलको नेतृत्वमा अहिले झापाको बिर्तामोडमा नागरिक अस्पतालको निर्माण कार्य भइरहेको छ।

सामाजिक संघसंस्थाको समन्वय, सहजीकरण र संवादमा नजिक रहेर काम गर्न सक्ने व्यवसायिक क्षमता बनाएका पौडेल झापा जिल्ला सहकारी संघको सञ्चालक सदस्य पनि छन् । झापा जिल्ला सहकारी सङ्घले सहकारीका सबै नेतृत्व र सदस्यहरूलाई सञ्चालक सदस्य समेत रहेका महासचिवका उम्मेदवार पौडेललाई मतदान गरी विजय गराउन सार्वजनिक रुपमा अपिल समेत गरिसकेको छ ।

स्थानीय सरकारसँग समन्वय गरी व्यवसायीका मुद्दाहरूमा बहस पैरवी गर्ने, उनीहरूको पक्षमा थप जनमत सिर्जना गर्ने र व्यापार व्यवसाय प्रवर्द्धनमा सहजीकरण गर्ने वातावरण मिलाउनु अहिलेको आवश्यकता भएको बताउँदै महासचिवका उम्मेदवार पौडेलले यसका लागि आफूलाई जिताउन अपिल पनि गरेका छन् । मत माग्दै अधिकांश मतदाताको घरमा पुगेको र उनीहरूले आफूलाई सघाउने प्रतिबद्धता जनाएको बताउँदै महासचिवका उम्मेदवार पौडेलले भेट हुन नसकेका कतिपय मतदाताले पनि आफूलाई शुभेच्छा प्रकट गर्दै मतदान गर्ने बताए । 

वाणिज्य संघलाई राजनीतिक दल निर्देशित संस्थाका रूपमा यसअघि सञ्चालन गर्न खोजिएको प्रति आपत्ति जनाउँदै महासचिवका उम्मेदवार पौडेलले सबै व्यवसायीको अपनत्व हुने गरी संस्था सञ्चालन गर्ने कुरामा आफ्नो जोड रहने बताएका छन् ।

 सक्षम, सबल र स्वतन्त्र ढङ्गका व्यक्तिहरूको प्रतिनिधित्व र सहभागिता रहन सकेमात्रै बाणिज्य संघ आम व्यवसायीको पक्षमा हुने पौडेलको तर्क छ । व्यवसायीका पीरमर्का बुझ्ने, त्यसको समाधानका लागि नीतिगत रुपमा लड्न सक्ने व्यावसायिक क्षमता र सीप आफूसँग रहेको बताउँदै महासचिवका उम्मेदवार पौडेलले आफ्नो पक्षमा मतदान गरेर एकपटक नेतृत्वमा स्थापित हुने अवसर दिन आम उद्योगी व्यवसायीलाई सार्वजनिक रुपमा अपिल पनि गरेका छन् ।