झापा  : वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान गर्ने महिलालाई उत्कृष्ट नारी सम्मान २०८० द्वारा सम्मान गर्ने भएको छ । 

क्लबद्वारा आइतबार सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एथलेटिक्सबाट ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालबाट भाग लिने पहिलो महिला धावक मेनुका राउतलाई उत्कृष्ट नारीका रुपमा सम्मान गर्न लागिएको  हो । 

११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राउतलाई उत्कृष्ट नारीको सम्मान प्रदान गरिने वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् । 

WhatsApp Image 2024-03-03 at 05.09.15 (1)

छनोट समितिको  तर्फबाट पत्रकार सम्मेलनमा नारी सञ्चार गृहको पुर्व अध्यक्ष तथा पत्रकार अम्बीका भण्डारीले उत्कृष्ट नारी प्रतिभाको नाम सार्वजनिक गरेकी हुन् ।

मेचीनगर–७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर सगौरव भाग लिएकी थिइन् । २०२१ देखि वीरता लेडी जेसीजले पूर्व अध्यक्ष क्लबमार्फत उत्कृष्ट नारी सम्मानको कार्यक्रम सुरु गरेको थियो ।

विभिन्न क्षेत्रमा रहेका अब्बल महिलाको मेहनत र योगदानको कदर स्वरूप पूर्व अध्यक्ष क्लबले निरन्तर उत्कृष्ट नारी सम्मान प्रदान गर्दै आएको पूर्व अध्यक्ष स्वस्तिका आचार्यले बताइन् । 

गतवर्ष नागरिक उड्डयनको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेकी महिला पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान २०७९ द्वारा सम्मान गरिएको थियो ।

पूर्व अध्यक्ष क्लबकी निवर्तमान अध्यक्ष राधा सुब्बाले पूर्व अध्यक्षहरूको सक्रिय योगदानका कारण यो कार्यक्रमले निरन्तरता पाइरहेको बताइन् । कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष संगीता गिरीले गरेकी थिइन् ।