सुरुङ्गा  : झापा गाउँपालिका ७ स्थित मदरगाजमा महोत्सव गरिने भएको छ । स्थानीय दीपज्योती युवा क्लव र जेएस फिल्म प्रोडक्शन प्रालि काठमाडौंको संयुक्त आयोजनामा आगामी फागुन २५ देखि चैत ६ गतेसम्म ‘मदरगाछ सांस्कृतिक तथा ब्यापार मेला २०८०’ को आयोजना गरिएको आज मदरगाछमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

 स्थानीय उत्पादनको प्रवर्धन र पिछाडि परेको मदरगाछ बजारलाई चिनाउने उदेश्यले सांस्कृतिक तथा ब्यापार मेला आयोजना गर्न लागिएको दीपज्योति युवा क्लबका अध्यक्ष डिल्लीराम चुडालले बताए ।  

झापा गाउँपालिका–७ का वडाध्यक्ष सखीचन्द्र ठाकुर,  उद्योग बाणिज्य संघ झापा गाउँपालिकाका उपाध्यक्ष छत्रप्रसाद पाण्डे, बजार ब्यवस्थापन समितिका सुवास डाँगी लगायतले स्थानीय कृषिजन्य बस्तुको प्रबद्धन र मदरगाजको व्यापार व्यवसायमा बढवा दिन महोत्सवको आयोजना गरिएको बताएका थिए ।  

कार्यक्रमको सञ्चालन क्लबका सचिव बासुदेव दाहालले गरेका थिए ।  मेलामा स्थानीय उत्पादनसहित ४० वटा स्टल रहने मेला आयोजक समितिका संयोजक तारवीर पाण्डेले जानकारी दिए । उनका अनुसार बालबालिकाका लागि मनोरजानत्मक सामाग्रीको समेत स्टलहरु रहनेछन् । 

सुरेश धिमाल अन्तरा वेण्ड र सिदान्त एण्ड दी वेण्डको संयोजनमा हुने मेलामा ज्योती मगर, राजशुक्र लिम्बु, प्रिति आले, कमल खत्री, शान्तिश्री परियार, श्रीनिवास, हिमाल सागर, एलिना चौहान, तारावीर पाण्डे, प्रिति पासवान, नन्दु गुरुङ, टिका प्रसाई, सुवास महत, फुलन्देको आमालगायतका गायक तथा कलाकारसहित स्थानीय कलाकारकोसमेत प्रस्तुती रहने संयोजक पाण्डेले बताए ।