झापाको बिर्तामोड–४ स्थित भद्रपुर रोडमा रहेको आरआर पोलिक्लिनिकले मानसिक रोगको निःशुल्क स्वास्थय शिविर गर्ने भएको छ । 

छाला रोगको विशेषज्ञ सेवा प्रदान गर्दै आएको पोलिक्लिनिकले मानसिक रोगको विशेषज्ञ सेवा थप गरेको हो ।  पोलिक्लिनिकले  चैत १ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने आज पत्रकार सम्मेलनको आयोजना गरी जनाइएको हो । 

पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईले मानसिकको उपचारका लागि भारत र जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सेवा थप गरेसँगै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको  बताए । 

पोलिक्लिनिकमा मानसिक रोग विशेषज्ञ डा. बबिता शर्माले सेवा दिनुहुनेछ । डा. शर्मा भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा चार वर्ष काम गरेर नेपाल आएकी हुन् । 

गुणस्तरी सेवा दिन दैनिक १५ देखि २० जना बिरामीको परीक्षण गरिने उनले बताइन् ।  उचित परामर्शले पनि आधा मानसिक रोग निको हुने र बाँकी औषधि लगायतले ठिक हुने उनी बताउंछिन् ।