झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो बुधबार निभाइएको छ । उद्योगमा लागेको आगो बुधबार अपराह्न निभाइएको हो ।

काठको विशाल घाटगद्दी भएकाले आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको जनाइएको छ । ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगको आगलागीबाट १५ करोड रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको सञ्चालक बिष्णु अग्रवालले जानकारी दिए ।  आगलागीबाट उद्योगको साहयक भाग क्षतिग्रस्त भएको छ ।

आगलागीका कारण भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ । उद्योग आजैबाट सञ्चालनमा ल्याइएको पनि सञ्चालक अग्रवालले जानकारी दिए । उनका अनुसार क्षति पुगेको संरचना बिस्तारै निमार्ण गरिंदै लगिनेछ । 

नेपालकै ठूलो  प्लाइउड उद्योगमा एक हजार बढी  मजदुर दैनिक कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा समेत  निर्यात हुने गरेको छ ।

आगलागीको खबर प्राप्त हुनेबित्तिकै १० वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो निभाउन कठिन भएको थियो । आगो निभाउन भारतबाट पनि दमकल मगाइएको थियो।

झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख मिलन केसीले आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताए। करोडौं  लगानी गरिएका यस्ता उद्योगहरु भबितब्य आगलागि हुंदा उद्योग सञ्चालकहरुलाई ठूलो नोक्सानी हुने गरेको छ ।