बिर्तामोड :  ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।

‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी ९पुरुष० मा रोशन मगर आइटिएफ तेक्वान्दो, प्रारम्भ भण्डारी पौडी र अनन्त तामाङ फुटबल, वर्ष उत्कृष्ट खेलाडी महिला मा त्रिशा जवेगू बक्सिङ, अनुजा कुलुङ राई कबड्डी र सिक्का सुवाल श्रेष्ठ टेबल टेनिस रहेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी युवामा प्रारम्भ भण्डारी पौडी, कृतिसरा अधिकारी बुद्धिचाल र योगिता काम्बाङ आर्चरी, पिपल्स च्वाइस खेलाडीमा रुविना क्षेत्री क्रिकेट, विनिता बुढाथोकी भलिबल र सुस्मिता राई बक्सिङ र वर्ष उत्कृष्ट प्रशिक्षकमा डम्बर लिम्बू बक्सिङ, नविन तामाङ आइटिएफ तेक्वान्दो र भूपेन्द्र निरौला बुद्धिचाल  रहेका छन् ।

वर्ष खेलाडी पुरुष र महिलालाई जनही नगद एक लाख र ट्रफी, वर्ष खेलाडी युवालाई नगद २५ हजार र ट्रफी, पिपल्स च्वाइस खेलाडीलाई नगद २५ हजार र ट्रफी, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।

त्यस्तै, स्पेशल अचिभमेन्ट अवार्डका खेल प्रतिभालाई नगद २५ हजार र ट्रफी, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार र ट्रफी र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ५० हजार र ट्रफी प्रदान गरिनेछ ।

स्पेशल अचिभमेन्ट, उत्कृष्ट खेल पत्रकार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका प्रतिभाको नाम अवार्डको दिन घोषणा गरिनेछ ।

पिपल्स च्वाइस खेलाडीको विजेताको छिनोफानो भने एनएसजेएफ झापाको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङबाट गरिनेछ ।

‘झापा स्पोर्टस् अवार्ड’ को पाँचौँ संस्करण यही चैत २९ गते बिहीबार बिर्तामोडको बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । अवार्डमा २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराएको कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिए ।