झापा 

तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आदर्श युवा क्लबको आयोजनामा बुद्वशान्तिमा बैशाख १५ गतेदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो । 

प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम भईसकेको र  अस्थायी प्यारापिट निर्माण गर्ने काम भइरहेको छ । मैदान मर्मत गर्ने काम अन्तिम अवस्थामा पुगेको आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिए । 

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो  । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा आदर्श युवा क्लब बुद्वशान्ति, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, मानेभञ्ज्याङ एफसी भारत, धरान एफसी, बिर्तामोड युनाइटेड, नर्थ बंगाल एफसी भारत, रेड हर्ष एफसी इलाम र बेलबारी एफसी मोरङको सहभागिता रहने आयोजक ले जनाएको छ ।  प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने प्रतियोगिता संयोजक मनेष दाहालले बताए । 

प्रतियोगितामा २१ लाख ९६ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।  इन्दिरा फाउण्डेसनको प्रायोजन र जिल्ला फुटबल संघले प्रतियोगितामा प्राविधिक सहयोग रहने छ ।