अर्जुनधारा ।

झापाको अर्जुनधारामा अर्जुनधारा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । नगरपालिकाले  नेपालमै पहिलो पटक  अर्जुनधारा ९ कटहरडाँडामा पशुपन्छी तथा मत्स्य शाखा अन्तरगत अस्पताल भवन निर्माण शुरु गरेको हो ।  उक्त भवनको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले एक कार्यक्रमकाबिच  भवनको  शिलान्यास गरेका छन् ।

पशुलाई अस्पतालमै लगेर उपचार गर्न नगरले अस्पताल निमार्ण सुरु गरेको नगर प्रमुख बलदेवले बताए ।   कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा नगरले अस्पताल निर्माण शुरु गरेको हो ।  भेटेरीनरी अस्पताल निमार्ण पश्चात अर्जुनधारा सहित छिमेकी पालिका तथा  कोशी प्रदेशभरीका पशुपन्छी पालकले सेवा लिन सक्ने नगर प्रमुख गोम्देनको भनाई छ । 

पशुलाई  प्राविधिक तथा गुणस्तरीय सेवा दिने उदेश्यले अस्पताल भवन निर्माण शुरु गरेको पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले जानकारी दिए । 

उनका अनुसार उक्त भेटनरी अस्पतालमा पशुका लागि भिडियो एक्सरे, अप्रेशन थे्रटर, ओपिडी सेवा, पोष्टमर्टमलगायतका सम्पूर्ण सेवा दिइनेछ । 

१० कठ्का क्षेत्रफल रहेको उक्त अस्पताल ५ कठ्ठाको क्षेत्रफलमा निर्माण हुने छ ।  नगरको बहुबर्षिय योजना अन्तरगत निर्माण हुन लागेको उक्त अस्पताल ४ करोड १० लाखमा डिपिआर गरिएको थियो । १ करोड ७७ लाख २३ हजार ३३३ रुपैयाँ ३० पैसामा निर्माण ठेक्का लागेको नगरले जनाएको छ । 

अर्जुनधारा १ को साईमन नुमा शेर्पा जे.भि. कम्पनीले २०८१ बैशाख १६ गते निर्माण जिम्मा लिएर २०८१ पुस १५ गतेसम्ममा अस्पताल भवन निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको छ ।