नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) का केन्द्रीय अध्यक्ष गजेन्द्रवहादुर पौडेलले पछिल्लो समय बढ्दो विदेश पलायनबाट नेपाली युवालाई रोक्न आवश्यक रहेको बताएका छन् । उनले कृषि उत्पादनमा आधारित उद्योगधन्दा र कलकारखाना निर्माण गर्दै सरकारले रोजगारीका लागि विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्न आवश्यक रहेको बताएका हुन् ।
पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष पौडेलले आर्थिक मन्दी लगायतका विविध कारणले नेपालमा रहेका उद्योगधन्दा र कलकारखाना धरासायी बन्दै गएको प्रति दुःख ब्यक्त गरे । उनले जसका कारण उद्योग धन्दामा आश्रित कर्मचारीहरु समेत पलायनको स्थितिमा पुगेको बताए ।
नेपालमा १२ लाख ५० हजार व्यपारसंग सम्वन्धित कर्मचारी रहेको र कोभिडपछि व्यवसाय चलायमान हुन नसक्दा ४० प्रतिशत कर्मचारीहरु समेत विदेश पलायनको स्थितिमा पुगेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।
नेपालमा उद्योगधन्दा र कलकारखाना खोल्न विदेशी लगानी भित्र्याउनु पर्ने उनको भनाई छ ।
आर्थिक मन्दीका कारण व्यवसायीहरु नै पलायनको स्थितिमा पुगेकाले व्यापार क्षेत्रमा कार्यरत कर्मचारीहरु समेत पलायनको स्थितिमा पुगेको भन्दै कर्मचारीहरुको रोजीरोटी गुमेको बताउंछन् । बढ्दो विदेश पलायनलाई रोकेर नेपाली जनशक्तिलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न ढिलो गर्न नहुने बताउंछन् ।