सन्तोष न्यौपाने÷झापा 

कांकरभिट्टा स्थित मेची भन्सार कार्यालयले केहि बर्षदेखि लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको छ ।  अघिल्लो आर्थिक वर्ष २०७९ ÷८० मा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको कार्यालयले चालु आर्थिक वर्ष को ९ महिनामा पनि लक्ष्य भेट्न नसकेको हो । 

मेची भन्सार केही वर्षयता लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल हुँदै आएको छ ।  आर्थिक वर्ष २०७९÷०८० मा २० अर्ब २४ करोड १८ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले १४ अर्ब ५२ लाख ९० हजार रुपैयाँ अर्थात ७० दशमलब २१ प्रतिशत मात्र संकलन गरेको थियो । 

चालु आर्थिक आवको चैत्र महिना सम्म मेची भन्सारले १० अर्ब ३८ करोड १८ हजार रुपैंया संकलन गरेको छ । कार्यालयलाई यो आर्थिक बर्षमा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार लक्ष्य दिइएको छ । चालु आव सकिन ३ महिनामात्र बांकी छंदा कार्यालयले ७६ दशमलब ७५ प्रतिशत राजश्व संकलन गरेको छ । 

राजश्वका प्रमुख हिस्सा ओगटेका बस्तुको आयात घट्नु, देशमा देखिएको आर्थिक मन्दीको असर, खुला सीमा सहित राजस्वका श्रोतहरु घट्दै गएकोले लक्ष्य हासिल गर्न असफल भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । 

राजश्वको प्रमुख हिस्सा ओगटेका पेट्रोलियम पदार्थ बस्तुको आयात घटेको तथा सुपारीमा कोटा प्रणाली लागु भएको , कोइला आयात बन्द भएको कारण तथा विविध कारणले भन्सार पहिलेको तुलनामा सुस्ताएको भन्सार प्रमुख रेग्मी  बताउंछन् ।

मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ ।